सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइँदै

 भदौ २१, २०७८ सोमबार १८:४३:४९ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सङ्खुवासभा – एकै परिवारका ६ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको टोली तालिम प्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगराज खतिवडाले जानकारी दिनुभयो । 

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गर्नुभएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु ६ घण्टा लाग्छ । घटनास्थल तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्दछ । 

हिजाे आइतवार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी नगरपालिका १ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेको थियो ।  

तेजबहादुरको शव रोडको भित्तामा फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ । तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको उहाँले बताउनुभयो । 

त्यस्तै तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । हत्याकाण्डमा तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की अहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया