लाइसेन्सका लागि तत्काल फारम नखुल्ने, झन्डै ६ लाख सेवाग्राहीले परीक्षा दिन बाँकी

 भदौ २३, २०७८ बुधबार १७:४०:११ | रासस
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था विभागले चालक अनुमति पत्र (लाइसेन्स) का लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झन्डै ६ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । 

फारम भरेका झन्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दशैँसम्ममा दुई/तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ ।’ फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झन्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमति पत्र पाउन बाँकी छ । विभागले अनुमति पत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झन्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । 

विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रूपमा रोजगारीमा जानेका लागि मात्रै अनुमति पत्र दिने गरेको छ । उहाँले भन्नुभयो, ‘सर्वसाधारणका लागि छपाइ हुँदैन, प्रवेशाज्ञा र टिकट देखाएपछि अत्यावश्यक हेरेर मात्रै छपाइ हुन्छ ।’ केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागि समेत अनुमति पत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा. भुसालले बताउनुभयो । दशैँसम्ममा कार्ड आइपुगेमा समस्या नहुने बताइएको छ । 

परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमति पत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमति पत्र वितरण सुरुवात गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमति पत्र दिन थालेका हुन् । यो अनुमति पत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा. भुसालले बताउनुभयो । यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण (प्रिन्टर) किनेको छ । विभागले गएकाे १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाण्डाै उपत्यकामा रहेका चार वटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यकाबाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।    

परीक्षणकालीन चालक अनुमति पत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्बर (क्यूआर) नम्बरसहितको अनुमति पत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो व्यवस्थाबाट सेवाग्राही र ट्राफिक प्रहरीलगायतलाई सजिलो भएको छ ।’

ऐनमा नै व्यवस्था भए पनि परीक्षणकालीन अनुमति पत्रलाई निरन्तरता दिने/नदिने भन्नेमा विभाग नै स्पष्ट छैन । विभागले फ्रान्सेली कम्पनीमार्फत खरिद गरेको १४ लाख कार्ड आएपछि यसलाई निरन्तरता दिने कि पास गर्नासाथ ‘स्मार्ट’ चालक अनुमति पत्र दिने भन्नेमा छलफल भइरहेको विभागले जनाएको छ । 

ऐनमा परीक्षणकालीन अनुमति पत्र पाएको अवधि एक वर्षभित्र दुर्घटना नगरेमा स्थायी दिने उल्लेख छ । उहाँले भन्नुभयो, ‘यो कार्ड सुरु गरेपछि सेवाग्राहीलाई मैले पास गरेँ, मसँग लाइसेन्स छ भन्ने अनुभूति हुने रहेछ ।’

अहिले परीक्षणकालीन अनुमति पत्र पाउँदा त्योसमेत नै पाँच वर्षको हुनेछ । एउटा प्रकारको सवारीको अनुमति पत्र लिँदा सेवाग्राहीले अर्को प्रकार थप्दा पहिलेको मिति कायम हुन्छ । त्यसरी अहिले पनि परीक्षणकालीन अनुमति पत्रसमेत गरी पाँच वर्ष रहेको छ । 

विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र प्रणाली अर्को कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा. भुसालले बताउनुभयो । दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ । उनीहरूले धेरै महिना लगाएर समस्या पत्ता लगाएका छन् । पुरानो कम्पनीको प्रणालीले ल्याएको ‘इनपुट’ कार्डमा छापिन समय लागेको बताइएको छ । फ्रान्सेली कम्पनीले पछिल्लो पटक पठाएको कार्ड यहाँ परीक्षण गर्दा पुरानो प्रणालीमा छापिनसक्ने देखिएको विभागले जनाएको छ । 

‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छाैँ भनेको उहाँले बताउनुभयो । कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा. भुसालले बताउनुभयो । उहाँका अनुसार कार्ड आएपछि दुई/तीन शिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमति पत्र पुर्‍याइनेछ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया