सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाण्डाै–नयाँ दिल्ली गन्तव्यमा हप्तामा १० उडान हुने भएका छन् ।
नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा हप्ताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा हप्तामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् ।
एयर अरेबियाले हरेक दिन काठमाण्डाै गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान गर्नेछ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको छ उडान सञ्चालनको अनुमति पाएको छ । त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कूल सात उडानको अनुमति पाएको छ ।
जजिरा एयरवेजले काठमाण्डाैका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाण्डाै उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ ।
नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले हप्तामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ । उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै हङकङका लागि हरेक मङ्गलबार उडान हुनेछ ।
त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ । टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाण्डाैमा उडान गर्नेछ । सिङ्गापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलङ्कन एयरलाइन्सले मङ्गलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ । अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।