‘हतारमा विद्यालय नखोल्नू’

 भदौ ३०, २०७८ बुधबार २०:२२:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा सरोकारवालासँग आज बुधवार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँले विद्यालय खोल्ने वा नखोल्ने सम्बन्धित पालिकाले निर्धारण गर्ने बताउनुभयो । उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र पालिकासँग समन्वय गर्नसमेत निर्देशन दिएको बताउनुभयाे । उहाँले पालिकामा रहेको कोभिड–१९ को जोखिम आकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताउनुभयो ।  

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिइएको छ । विद्यालय यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उहाँले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनसमेत भनिएको बताउनुभयाे । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले कोभिड–१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताउनुभयो । ‘सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन’, उहाँले भन्नुभयो, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।’

छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया