जनहितका योजना अघि बढाउनुुस् : राष्ट्रपति भण्डारी

 असोज १५, २०७८ शुक्रबार १६:०:१३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुसार उपलब्ध साधन–स्रोतको पहिचान एवम् परिचालनको सामर्थ्य आकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज शुक्रवार काठमाण्डाैमा सुरु गर्दै उहाँले देशको सर्वाङ्गीण रूपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउनुपर्छ । 

विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, सङ्क्रमण अन्त्य भइ नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।

आयोजक संस्था महासङ्घकी अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिनुभयो । 

उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुनासो गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुगमन गर्ने एजेन्सीका रूपमा स्थापित गर्न आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभयो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूले सङ्घ र प्रदेश सरकारको तुुलनामा नागरिकका हितका लागि पालिकाले न्याय निरूपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रूपमा रहेका पालिकाले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानुनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । 

राष्ट्रिय परिषदमा देशका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुझाइ स्थापित गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुस्तकको लोकार्पण गर्नुभयो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया