गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाइ सुरु

 असोज १६, २०७८ शनिबार १५:३३:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।

नेपालमै पहिलोपटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बीएसएम) र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बीआईटी) विषयको पढाइ सुरु गर्नुअघि  विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम शुभारम्भ गर्दै  विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विद्यार्थीको  उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गर्नुभयो ।

“नेपालको इतिहासमा  पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।”

‘नोलेज’, ‘एटिच्युड’ र ‘इन्डिभिजुअल विहेभियर’मा परिवर्तन गर्नसके शिक्षाका माध्यमबाट देशलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकारसँग अझै छलफल गरेर अघि बढ्ने अध्यक्ष देवकोटाको  भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्य सचिव डा दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुआतमै स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताउनुभयो । प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उहाँले सर्टिफिकेटभन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताउनुभयो ।

हालका लागि दुई विषयमा अध्ययन शुरु गरिए पनि चाँडै नै बीफर्माको अध्यापन सुरु गरिने जानकारी दिँदै उपकुलपति प्रा डा नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोडने तयारी गरिरहेको बताउनुभयो ।

विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (बीएसएम)मा १६, ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बीआईटी)मा ३१ र बीफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया