चीनले नेपाललाई भन्यो : जुन बाटो सजिलो हुन्छ, त्यही प्रयोग गर्न सक्नुहुन्छ

 भदौ २०, २०७५ बुधबार १५:४३:१० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं - आफ्ना सबैजसो बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन चीन सकारात्मक भएको छ । 

नेपाल–चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल टुंग्याउनका लागि बुधबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा चीनका प्रतिनिधि निकै लचकताका साथ प्रस्तुत भैरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । 

‘नेपाललाई चीनका सबैजसो समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेगरी कुरा भैरहेको छ, बैठकमा उहाँहरु निकै लचकताका साथ प्रस्तुत हुनुभएको छ’, मन्त्रालयका सहसचिव नवराज ढकालले भन्नुभयो, ‘हामीले सबै समुन्द्री बन्दरगाह र केही सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने गरी प्रस्ताव राखेकोमा उहाँको हाउभाउ हेर्दा सहमति दिने जस्तो देखिएको छ ।’

नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो, त्यसलाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसिरहेको छ । प्रोटोकल टुंग्याउन यसअघि २ वटा बैठक चीनमा भैसकेका छन् । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने गएको जुनमा दोस्रो बैठक पनि चीनमै भएको थियो ।

अहिले काठमाडौंमा भैरहेको बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले  गर्नुभएको छ । यस्तै बैठकमा पराराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी छन्  । चीनको तर्फबाट चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले बैठकको नेतृत्व गर्नुभएको छ ।

सडकमा अझै लचिलो, नेपाललाई सजिलो हुने बाटो प्रयोग गर्न दिन सकारात्मक

व्यापार तथा पारवहन प्रोटोकल बैठकमा नेपालले आफूले प्रयोग गर्ने बन्दरगाह मात्रै नभई सडकमार्गको सूची पनि चिनियाँ टोलीसमक्ष प्रस्तुत गरेको छ । बैठकको सुरुवातमै चीनले सडकको मामलामा आफूहरु झनै लचक भएको संकेत दिएका बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । 

‘हामीले विशेषगरी तातोपानी, केरुङ र हिल्सासम्म आउने सबै सडक प्रयोग गर्न दिन चीनसँग अनुरोध गरिएको छ’, सहसचिव ढकालले भन्नुभयो, ‘हामीले राखेको प्रस्तावमा चीन सकारात्मक छ, बन्दरगाहदेखि नेपालको सीमासम्म आउन जुन रुट छोटो र सजिलो हुन्छ हामीले त्यही रुट प्रस्ताव गरेका छौँ, उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

भूपरिवेष्ठित देश नेपालले पाउनुपर्ने अधिकारका विषयमा चीनका प्रतिनिधि सकारात्मक र सचेत रहेको मन्त्रालयले जनाएको छ ।  नेपालका कस्ता गाडी, कुन बाटो हुँदै चीनको कुन भूभागसम्म पुग्ने भन्नेबारेमा पनि प्रोटोकल बैठकमा कुरा भैरहेको छ । 

तेस्रो देशबाट सामान आयात निर्यातका लागि भारतको विकल्प तयार हुने

चीनसँग व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएमा तेस्रो देशबाट नेपाल सामान भित्राउनको लागि नयाँ विकल्प तयार हुने भएको छ । अहिले समुन्द्री तथा  सुख्खा बन्दरगाह हुँदै भारतबाट मात्रै सामान आयात भैरहेको छ । चीनसँगको प्रोटोकल सम्झौताले अन्तिम रुप पाएमा अब चीनका बन्दरगाह हुँदै पनि नेपालले सामान आयात निर्यात गर्न सक्नेछ । 

चीनको बाटो नजिक पर्ने भए पनि अहिले जापान, कोरियालगायतका देशबाट आउने सामान भारतीय बन्दरगाह हुँदै आयात भैरहेका छन् । यदि चीनका बन्दगाह नेपालले प्रयोग गर्न पाउने प्रोटोकलमा हस्ताक्षर भएमा नेपाल भित्रने सामानको भाउ पनि घटन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिनुभयो ।

‘अहिलेसम्मका २ वटा वार्ता निकै सकारात्मक भएका थिए, अहिले पनि सकारात्मक नै छ, यो प्रोटोकलमा हस्ताक्षर गरियो भने नेपाललाई धेरै फाइदा हुन्छ’, सैंजुले भन्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया