साफ च्याम्पियनसिप : दबाबमा नेपाल, सेमिफाइनलको बाटो खोल्ने नेपालको लक्ष्य

 भदौ २१, २०७५ बिहीबार ९:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले आज भुटान सँग खेल्दैछ ।

पहिलो खेलमा अन्ततिम मिनेट सम्हालिन नसक्दा पाकिस्तान सँग दुई एकले पराजित भएको नेपाल आजको खेलमा जित्नै पर्ने दवाबमा हुनेछ । भुटानसँगको खेलमा जित हात पारे नेपालको नकआउट चरणको सम्भावना कायमै रहनेछ ।

पहिलो खेलबाट पाकिस्तान र आयोजक बंगलादेशले तीन तीन अंक जोडेका कारण भुटानसँग तीन अंक खोस्न सकेको खण्डमा नेपालको सम्भावना जिवितै रहनेछ । बराबरीले पनि नेपालको नकआउट चरण प्रवेशको सम्भावना कायमै रहने भए पनि निकै न्यून हुनेछ । त्यसकारण भुटान विरुद्धको खेल नेपालका लाग गर या मरको अवस्थामा रहनेछ ।

नेपाली प्रशिक्षक बालगोपाल महर्जन पनि भुटानविरुद्धको खेलमा जित हात पार्नेमा आशावादी छन् । प्रशिक्षक महर्जनले पाकिस्तानविरुद्धको खेल नेपालको पक्षमा अन्तिम समयमा सम्हालिन नसक्दा पराजय ब्यहोरेको प्रतिक्रिया दिए । ‘खेलको अनुसार हामीले जितेका नै थियौं । खेलाडीले मैले सोचेजस्तो खेलेका थिए । फुटबलमा जे पनि हुन सक्छ । ब्राजिल, जर्मनी जस्ता देशले पनि खराब नतिजा निकालेका छन् । तर त्यस्तो नतिजा दोहो¥याउनु हुँदैन । त्यो गल्तीबाट सिकेर हामीले तयारी गरेका छौं’, प्रशिक्षक महर्जनले भने ।

एसियाली खेलकुदमा सहभागिता जनाएर आएपछि नेपालले साफ च्याम्पियनसिपको लागि करिब दश दिन प्रशिक्षण गरेको थियो । त्यस समयमा बनेको नेपाली टिम प्रति बालगोपाल महर्जनले सन्तुष्टि व्यक्त गरेका छन् । ‘स्कोर निस्किनु पर्ने अवस्थामा गोल गर्न नसक्दा अलि कठिनाई भएको छ ।’
‘ब्यक्तिगत रुपमा सबै खेलाडीले राम्रो खेलेका छन् । खेलाडीले मेरो अपेक्षा अनुसारको प्रदर्शन गरेका छन् ।’

भुटानविरुद्धको खेलमा केही परिवर्तन हुन सक्ने प्रशिक्षक महर्जनको भनाई छ । ‘अट्याकिङ लाइनमा केही जोड दिनु आवश्यक छ र डिफेन्सले त्यस्तो गल्ति नगरेको खण्डमा भुटान र बंगलादेशमाथि हामी जित निकाल्न सक्छौं । हामी जितका लागि जानेछौं ।’ प्रशिक्षक महर्जनको भनाई छ ।

भुटान विरुद्ध मैदानमा उत्रिएमा कप्तान विराज महर्जन नेपाली फुटबल इतिहासको सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बन्नेछन् । बंगलादेशविरुद्धको  खेलमा ६८ क्याप जितेका विराजले राजुकाजी शाक्यलाई पछिपार्दै सर्वाधिक क्याप जित्ने नेपाली नेपाली फुटबलर बन्नेछन् । तर पाकिस्तानविरुद्ध उनले नै विपक्षी खेलाडीलाई फल गरेका कारण सुरुवातमै पेनाल्टी गोल खान पुगेको थियो । पाकिस्तानविरुद्धको खेलमा धेरै मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा र अन्तिम समयमा सम्हालिन नसक्दा महत्वपूर्ण खेलमा हार ब्यहोरेको भनाई कप्तान विराजको छ ।

‘पहिलो खेल हारे पनि अझ दुई वटा म्याच बाँकी छ । टिमको मनोबल पनि गिरेको छैन । दुई खेल जित्दै हामी सेमिफाइनलमा जानेछौं ।’ कप्तान महर्जन विश्वस्त छन् ।

साफ च्याम्पियनसिपको इतिहास हेर्ने हो भने नेपाल अहिले सम्म भुटान सँग पराजित भएको छैन । साफ च्याम्पियनसिपसहित नेपाल र भुटानले अहिले सम्म १२ खेलमा प्रतिस्पर्धा गरेका छन्, जसमा नेपाल १२ खेलमै बिजयी भएको छ । साफ च्याम्पियनसिपमा पनि नेपालले भुटानलाई दुई भेटमा दुवैमा निराश बनाएको छ ।

तर पछिल्लो समय घरेलु फुटबलमा निकै सुधार गरेको भुटानले आकर्षक फुटबलको नमुना प्रस्तुत गर्न थालेको छ । पहिलो खेलमा आयोजक बंगलादेश सँग दुई शून्यले पराजित भए पनि भुटानले निकै उत्कृष्ट फुटबल खेलेको थियो । त्यसैले नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जन भुटानलाई कमजोर रुपमा नलिएको बताउँछन् ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया