ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो, रुस–युक्रेन र इजरायल–हमास युद्धबारे विभिन्न टिप्पणी र शङ्का

 कात्तिक २१, २०८१ बुधबार १७:४१:४७ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

राष्ट्रपतिमा विजयी भएसँगै डाेनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बधाई दिँदै उहाँसँग काम गर्न तयार रहेको बताउनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग सम्मान र महत्त्वाकाङ्क्षाका साथ काम गर्न तयार रहेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिनुभएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पलाई बधाई दिँदै दुई देशबीचको साझेदारी थप बलियो हुने बताउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू अमेरिका–युक्रेन साझेदारीको दरिलो युगको पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको बताउनुभएको छ ।

ट्रम्पले यसअघि आफू विजयी भएमा रुस–युक्रेन युद्ध केहीबेरमै रोक्न सक्ने जिकिर गर्दै आउनुभएको थियो । अब उहाँले रुस–युक्रेन युद्धलाई कसरी रोक्नुहुन्छ भन्ने चासो बढेको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई दिएको अर्बाैं डलर सहयोगको ट्रम्पले विरोध गर्दै आउनुभएको छ ।

ट्रम्प विजयी भएपछि पत्रकार सम्मेलन गरेर रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रुस–अमेरिकाको सम्बन्ध ऐतिहासिक रूपमा कमजोर रहेको स्वीकार गर्दै वार्ताका लागि भने ढोका खुलै रहेको बताउनुभएको छ । पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिने कुनै योजनाबारे जानकारी नभएको बताउनुभएको छ । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई शक्ति दिइरहेको विषय आफूहरूले नर्बिसने भन्दै उहाँले घटनाक्रमको विश्लेषण गरिरहेको बताउनुभएको छ ।

यस्तै इरानविरुद्ध तत्कालै आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएकाले अहिले मध्यपूर्वमा चर्किएको द्वन्द्व थप बढ्न सक्ने कतिपयको विश्लेषण छ । विश्वको दोस्रो ठूलो शक्तिमा रहेको चीनविरुद्ध पनि ट्रम्पले धेरै नकारात्मक अभिव्यक्ति दिँदै आउनुभएको छ । कोरोना भाइरसलाई चिनी भाइरसको संज्ञा दिनुभएका ट्रम्पको कार्यकालमा चीनसँगको सम्बन्ध सुधार हुन सकेको थिएन । ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति ल्याएर देश निकाला गर्ने चेतावनी दिएकाले अवैध रूपमा अमेरिका पुगेका र पुग्न खोज्ने आप्रवासी प्रभावित हुनेछन् ।

आज विजय निश्चित भएपछि फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताउनुभएको छ । यो चुनावमा रिपब्लिकन दलले राष्ट्रपतिसँगै माथिल्लो सदनमा बहुमत पुर्‍याइसकेको छ । तल्लो सदनमा पनि रिपव्लिकनकै बहुमत आउने सम्भावना बलियो छ ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया