शैक्षिक गुणस्तर सुधारको कार्यक्रम सार्वजनिक

 भदौ २३, २०७५ शनिबार ५:४९:४५ | रासस

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ को थालनी गरेको छ । 

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सबैको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण’ को नारासहित सो कार्यक्रमको घोषणा गर्नुभएको हो । 

समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको लागि दक्ष एवं सक्षम जनशक्ति आवश्यक पर्ने भन्दै उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग तथा विभिन्न क्षेत्रगत कार्य टोलीको सुझाव प्राप्त भएपछि सोको आधारमा नीति तथा कार्यक्रममा संशोधन गर्नुका साथै सोको मार्गनिर्देशनका आधारमा सरकारले कार्यान्वयन प्रक्रिया थप सुदृढीकरण गरिने जानकारी दिनुभयो । 

सुधार कार्यक्रममा बाल विकास केन्द्रको पुनर्वितरण तथा सञ्चालनमा सुधार, पाठ्यक्रम तथा पाठ्य सामग्रीमा समसामयिक सुधार, शिक्षक दरबन्दी पुनर्वितरण तथा न्यूनतम् शिक्षक सुनिश्चितताका लागि नेपाल सरकारबाट गठित दरबन्दी पुनर्वितरण कार्यदलको सुझावका आधारमा शिक्षक दरबन्दी पुनर्वितरण कार्य अघि बढाइनेलगायत उल्लेख छ । 

यसैगरी शिक्षक तालीम तथा पेशागत विकासलाई सुदृढीकरण गर्ने, शिक्षक प्रसंशा तथा प्रोत्साहनको व्यवस्था गरी उत्प्रेरणा अभिवृद्धि गर्ने, शिक्षकको वृत्ति विकास प्रणालीमा परिवर्तन गर्ने पनि कार्यक्रममा उल्लेख छ । मन्त्रालयले ‘विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ’अभियानलाई निरन्तरता दिने, शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्ने पनि जनाएको छ । 

मन्त्री पोखरेलले ज्ञानमा आधारित गुणस्तरीय शिक्षा दिन विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधार गर्ने र विद्यार्थीको स्वास्थ्य तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा प्राथमिकता दिने बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया