३३ किलो सुन तस्करी : छिरिङ पनि पुर्पक्षका लागि जेल चलान

 जेठ २०, २०७५ आइतबार १९:१६:२४ | उज्यालो सहकर्मी

मोरङ – ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

घलेलाई जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रशाद शर्माको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार, मोरङमा थुनामा पठाइएको हो । संगठित अपराध ऐन २०७० र मुलुकी ऐनको अदालती बन्दोबस्तीको दफा १८ बमोजिम घलेलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

छिरिङले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

 

उनलाई जिल्ला अदालतमा उपस्थित गराएर आइतबारै  १० पेजको बयान लिएपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसमा छिरिङका तर्फबाट वरिष्ठ अधिवक्ता बिश्व भट्टराई र अधिवक्ता सरोज अधिकारीले बहस गरेका थिए भने सरकार वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले बहस गरेका थिए । 

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा सुन तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए । घलेले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको गोरेको बयान थियो । तर, छिरिङले भने इन्कारी बयान दिएका छन् ।

घलेले आफुले गोरेलाई नचिन्ने जिकिर गर्दै बयान दिएका हुन् । छिरिङ सुन तस्करीसँग जोडिएका अर्का अभियुक्त भुजुङ गुरुङका साला हुन् । भुजुङ पनि पुर्पक्षका लागि जेलमा छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया