पोखरा लेखनाथ महानगरपालिको नाम फेरियाे

 भदौ २६, २०७५ मंगलबार ८:२७:२७ | रासस
unn.prixa.net

कास्की – पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । 

नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ । 

सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिश पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो । गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो । 

प्रदेश सरकारले सिफारिश गरेपछि २०७४ साउन २३ गते सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो । राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो । वि सं २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पुर्‍याइएको थियो । तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो । 

कविशिरोमणि लेखनाथ पौड्यालको नामबाट नामाकरण गरिएको उक्त नगरपालिकाको नाम हटाइएपछि उहाँको नामबाट कुनै प्राज्ञिक थलोलाई बनाउँदा अझ सान्दर्भिक हुने अधिकांशको सुझाव छ । कविशिरोमणि लेखनाथका कृति तथा उहाँको व्यक्तित्वलाई नयाँ पुस्तासँग जोड्ने, उहाँको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने, लेखनाथमा ठूलो पुस्तकालय तथा देशभरका लेखक, कलाकारका सिर्जनासँग  जोड्नपर्ने जनस्तरबाट महानगरपालिकालाई सुझाव आएको छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया