खर, खडाइका काट्न एकै दिन २० हजार जना बर्दिया निकुञ्ज प्रवेश गरे

 माघ २४, २०७८ सोमबार १८:८:५९ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जले आज सोमवारदेखि खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेको छ । ग्रामीण भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासीकाे घरगोठ निर्माणका लागि आवश्यक पर्ने खर, बाबियो काट्न हरेक वर्ष झैँ यस वर्ष पनि खर खडाइका लागि निकुञ्जले प्रवेश खुला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दिया निकुञ्जमा पाटे बाघ गणनाको कार्यक्रम चलिरहेको हुँदा यस वर्ष झन्डै एक महिना ढिला गरी निकुञ्ज प्रवेश खुला गरिएको हाे । निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधाका लागि प्रत्येक वर्ष खर खडाइ काट्न प्रवेश खुला गर्ने गर्छ । घरगोठ छाउन, घरगोठका भित्ता बेर्न, खटिया, भकारी बनाउन, डोरी, दाम्ला लगायतका काममा प्रयोगमा आउने खर खडिया काट्न स्थानीयवासी हरेक वर्ष जोखिम मोलेर निकुञ्ज भित्र पस्ने गर्छन् ।

पहिलो दिन आज झन्डै २० हजार जना निकुञ्ज भित्र प्रवेश गरेको र तीन दिनभित्रमा मध्यवर्ती क्षेत्रका झन्डै २५ हजार बढी मानिस खर खडाइका लागि निकुञ्ज प्रवेश गर्नेछन् ।

विगतका वर्षहरू भन्दा यस वर्ष निकुञ्ज प्रवेश गर्नेको सङ्ख्या घटेको छ । पाटे बाघका आक्रमणका घटना, जङ्गली हात्तीको आक्रमण र जाडोले गर्दा पनि यस वर्ष कम मानिसले प्रवेश पुर्जी काटेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

बिहान सूर्योदयदेखि सूर्यास्तसम्म निकुञ्जभित्र रहेका खर, खडिया, बाबियो, मुँज, सिँठा मात्र काट्न पाउने गरी २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि निकुञ्ज प्रवेश खुला गरिएकाे हाे । 

खर खडाइका लागि निकुञ्ज पसेका बेला निकुञ्जभित्रका जङ्गली हात्ती, बाघ, गैँडा, भालु लगायतका वन्यजन्तुको आक्रमणमा परि बर्सेनि स्थानीयवासीले ज्यान गुमाउँदै र घाइते हुँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया