मालपोत र नापी सेवा सञ्चालनको प्रक्रियामा जुट्दै लमजुङको सुन्दरबजार नगरपालिका

 फागुन १७, २०७८ मंगलबार १९:३९:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका मालपोत र नापी सेवा सञ्चालनको प्रक्रियामा जुटेको छ । सेवा सञ्चालनका लागि आवश्यक सुझाव लिन, सहमति जुटाउन र प्रक्रिया पूरा गर्नका लागि आज मङ्गलवार नगरपालिकाले सर्वपक्षीय बैठकसमेत बसेको छ । 

सुन्दरबजार नगरपालिकामा आवश्यक प्रक्रिया पूरा गरी सुन्दरबजार नगरपालिकालाई केन्द्र बनाएर इकाइ स्थापना गरेर भए पनि मालपोत र नापी सेवा प्रवाह गर्न सकेमा नागरिकलाई सहज हुने मेयर जनकराज मिश्रले बताउनुभयो ।

‘सुन्दरबजार नगरपालिका जिल्लाको दोस्रो मुख्य व्यापारिक केन्द्र पनि हो । यस क्षेत्रबाटै मालपोत र नापी सेवा दिन सकिएमा राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका नागरिकलाई पनि सहज हुनसक्छ’, उहाँले भन्नुभयो ।

देश सङ्घीयतामा गए पनि नागरिकले अझै पनि कतिपय सेवा जिल्लाको सदरमुकामबाटै लिनुपर्ने बाध्यकारी अवस्था रहेको बताउँदै मेयर मिश्रले मालपोत र नापी सेवा पनि स्थानीय तहबाटै प्रदान गर्न सकेमा नागरिकलाई थप सहज हुने बताउनुभयो । यस विषयमा सरोकारवालाहरूसँग थप छलफल र समन्वय गरी प्रक्रिया अघि बढाइने तयारी रहेको उहाँको भनाइ छ । 

संविधानको अनसूची ८ मा मालपोत, नापी सेवालाई पनि स्थानीय तहको अधिकारमा पर्ने उल्लेख गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।  

सुन्दरबजार नगरपालिकामा मालपोत र नापी सेवा सञ्चालनका लागि आवश्यक प्रक्रियाका विषयमा जानकारी लिन नगरपालिकाका ज्ञानेन्द्र शर्मा, गेहेन्द्र मिश्र, सुरेन्द्रलाल श्रेष्ठ र अशोक सुनारसहितको एक टोली यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेको थियो ।

इकाइ स्थापना गरी मालपोत र नापी सेवा सञ्चालनका लागि सर्वदलीय निर्णय, नगर कार्यपालिकाको निर्णय, जनसङ्ख्या अभिलेख, जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र, सङ्घीय सांसदको पत्र र पालिकाहरूको सहमति पत्र आवश्यक हुने जानकारी प्राप्त भएको ज्ञानेन्द्र शर्माले बताउनुभयो । 

बैठकमा मेयर मिश्रसँगै उमपेयर ज्ञानु शाह, सामाजिक विकास सुन्दरबजार नगरपालिकाका संयोजक एवम् उपसचिव ठाकुरजी तिवारी, वडाध्यक्षहरू लगायत सरोकारवालाको उपस्थिति थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया