रूपक अलङ्कारको महाकाव्य 'विश्रान्त' सार्वजनिक

‘नेपालकाे राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई झापड हान्ने कृति’

 फागुन २२, २०७८ आइतबार १६:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कवि तथा लेखक रूपक अलङ्कारको महाकाव्य 'विश्रान्त' सार्वजनिक भएको छ । हिजाे शनिवार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले त्यस कृतिको सार्वजनिक गरेका हुन् । 

फुटकर कविता र निबन्ध लेख्ने अलङ्कारले पहिलो कृतिका रूपमा महाकाव्य 'विश्रान्त' ल्याउनुभएकाे हाे । 

कार्यक्रममा सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र गरेकाे नभइ काव्यिक तरिकाले झापड हानेको बताउनुभयाे । विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उहाँकाे भनाइ थियाे । 

समालोचक डा. ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको सङ्घर्षलाई वृहत् रूपमा प्रस्तुत गरेको बताउनुभयाे । पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पार्नुभयाे । 

अहिले लेखकहरू साहित्य र समाजका लागि नभइ आफूलाई स्थापित गर्न लागिपरिरहेको र अलङ्कार ल्याएकाे कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने धारणा राख्नुभयाे । 

यस्तै समालोचक पौड्यालले सुदूर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलनविन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताउनुभयाे । नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुदाँ कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको स्पष्ट पार्नुभयाे । ‘समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यकाे मुख्यविन्दु हो’, पौड्यालले भन्नुभयाे ।  

पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उहाँले बताउनुभयाे । ‘यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरिएको छ’, पौड्यालले भन्नुभयाे, ‘यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ। जवाफको खोजी भने गरेको छैन ।’  

अर्का लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्त्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त राख्नुभयाे । 

महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य तीन सय ७५ रुपैयाँ राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया