मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

 चैत १२, २०७८ शनिबार १५:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ । 

फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो। चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई पराजित गरेको छ । गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो । तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कृत गरिएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ भए । उनले नगद १५ हजार प्राप्त गरे । यस्तै उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए । उनीहरुलाई जनही १० हजारसहित पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। प्रतियोगितामा तीन विभागिय र ६ प्रदेश गरी ९ टोलीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम घर भएका खेलाडी सम्मानित

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा सुदूरपश्चिम घर भएका भलिबल खेलाडीलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहका अनुसार नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित ८ जनालाई सम्मान गरिएको हो । सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया