बुढीगण्डकी डुबान क्षेत्र वरिपरी चक्रपथ निर्माणको काम सुरु

 भदौ ३१, २०७५ आइतबार १०:१०:११ | किरण लोहनी
unn.prixa.net

गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ ।

आयोजनाले गोरखा र धादिङतर्फ एक÷एक सय किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो । सय किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार भैसकेको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताउनुभयो । 

गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारदेखि बोर्लाङको महादेवटारसम्मको एकसय किलोमिटर सडकको डीपीआर बनाइएको उहाँले जानकारी दिनुभयो । धादिङतर्फ पनि चालु आर्थिक वर्षमा त्यति नै लम्बाईको सडकको ट्रयाक खोल्ने आयोजनाको तयारी छ । अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किलोमिटर सडकको डीपीआर बनाउन बाँकी छ । 

तर प्रारम्भिक सर्भेको काम भने भैसकेको कार्कीले जानकारी दिनुभयो । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड रुपैयाँ छुट्याएको छ । दुईवटै जिल्लामा ६÷६ करोड खर्चेर ट्रयाक निर्माण अघि बढाउने इकाई प्रमुख कार्कीले बताउनुभयो । बुढीगण्डकी आयोजनाको जलाशय करिब ५४ किलोमिटर फराकिलो हुनेछ । जलाशयको माथि १५ मिटर फराकिलो सडक बनाउने आयोजनाले जनाएको छ । 

तीनसय किलोमिटर लम्बाईको रिंगरोड निर्माणको ट्रयाक खन्ने काम पुष, माघबाट मात्रै सुरु हुने इकाई प्रमुख कार्कीले बताउनुभयो । मंसिरमा टेण्डर प्रक्रिया पूरा गरेर काम सुरु गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

अहिले ट्रयाक बनाइने र पछि त्यसैलाई रिंगरोडका रुपमा विकास गरिने इकाई प्रमुख कार्कीले बताउनुभयो । कतिपय ठाउँमा भने अहिले भएकै ट्रयाकलाई विस्तार गरे हुने देखिएको छ । तर ट्रयाक निर्माणको सुरुकै विन्दूमा जंगल परेकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्यौल देखिएको छ । 

जंगल क्षेत्रमा सडक निर्माण कसरी अघि बढाउने भन्नेबारे उर्जा मन्त्रालय, वन मन्त्रालयलगायतका उच्च अधिकारीहरुले छलफल थालेको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख कार्कीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Suk Bahadur Gurung

    Sept. 16, 2018, 12:49 p.m.

    के आरूघाट र खहरेको मुवाव्जानै कति दिनेहो तोक्न सकेको छैन यो जल्विधूध्द् आयोजना बनांउंन सक्ला र नेपाल ले,बढो पहिले नै चाइना कम्पनिलाई सोंपी दिएको भयेदेखि बनाई सक्थ्यो होला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया