जनप्रतिनिधि नै भन्छन, चुनावको तामझामले हामीलाई भ्रष्टचारी बनायो

 असोज २, २०७५ मंगलबार १८:४०:१५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – चुनावमा हुने तामझामले जनप्रतिनिधिलाई भ्रष्टचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।

सम्बाद समूह मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको सम्बादमा उनीहरुले चुनावको समयदेखि नै भ्रष्टाचार सुरु हुने भएकोले चुनावको पद्धति नै बदल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।

राजनीतिलाई व्यवसायभन्दा पनि राजनीतिक संस्कारको रुपमा लैजानु पर्ने भन्दै सांसदहरुले भ्रष्टाचार र सुशासनको काम चुनावको बेलादेखि नै सुुरु गरे भ्रष्टाचार रोकिने बताएका छन् ।

समाजको मनोवृत्ति नै भ्रष्टाचार उन्मुख रहेकोले त्यसलाई निरुत्साहित गर्ने तर्फ प्रदेशसभामा सांसदहरुले सशक्त भूमिका निर्वाह गर्न सक्नुपर्ने उनीहरुको धारणा छ । नीतिगत रुपमा हुने भ्रष्टाचार न्यूनिकरण गर्न सके सुशासन कायम हुने भएकोले त्यो रोक्न केन्द्रबाट नै पहल हुनु पर्ने सांसदको सुझाव छ ।  

भ्रष्टाचार नियन्त्रण गर्ने कानुनको अभाव नभएको तर कार्यान्वयन कडाईका साथ हुन नसक्दा यस्तो अवस्था आएको सांसदहरुले बताएका छन् । खर्चिलो निर्वाचन प्रणाली भएकोले निर्वाचन प्रणाली परिवर्तनको खाँचो रहेको समेत सांसदले औल्याएका छन् ।  

प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले  सुशासनको पक्षमा प्रदेश सांसदको भूमिका सशक्त हुन नसकेको बताउनुभयो । ओखलढुङ्गाबट प्रतिनिधित्व गर्ने सांसद मोहनकुमार खड्काले प्रदेश सरकारले यसका लागि केही सुधारका काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

सुशासन कायम गराउन प्रदेश तहबाट मात्रै केही हुन नसक्ने भन्दै त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु पर्ने उहाँको तर्क छ ।
प्रदेशसभा सदस्य जयराम यादवले  भ्रष्टाचार एक नम्बर प्रदेशमा मात्र नभई सबैतिरको हालत उस्तै रहेको बताउनुभयो । त्यसको नियन्त्रणको थालनी एउटा नागरिकबाट नै गर्नुपर्ने उानको तर्क छ ।

कानुन निर्माणमा प्रदेश सांसदको भूमिका हुने भएकोले त्यसको लागि सुशासन कायम गराउने कानुन ल्याउनुपर्ने र सबै एक भएर अघि बढ्नु पर्ने  यादवले बताउनुभयो ।  एक नम्बर प्रदेशसभाका नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले अहिलेको अवस्था हेर्दा हामी सबै नेपाली भ्रष्टाचारी हौँ कि जस्तो लागेको बताउनुभयो ।

पहिला आफ्नै जीवनशैली र सोच बदल्नु पर्ने बताउँदै उहाँले आफै पनि रोल मोडेलको रुपमा देखिन सक्नु पर्ने तर्क गर्नुभयो ।  त्यस्तै प्रदेशसभा सदस्य यशोदा अधिकारीले  प्रदेशसभाबाट सुशासन सम्बन्धी विधेयक आउँदै गरेकोले त्यो पास भएर जाने वित्तिकै सुशासनको प्रत्याभूति हुने दाबी गर्नुभयो । 

उदयपुरका सांसद बिमल कार्कीले पछिल्लो समय देखिएको विकृतपूर्ण राजनीतिक संस्कारले भ्रष्टाचार जन्माएको तर्क गर्नुभयो । 
 
 

अन्तिम अपडेट: चैत २७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया