भविष्यमा आउन सक्ने महामारी नियन्त्रण गर्न पनि सामर्थ्य विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

 साउन १२, २०७९ बिहिबार १३:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ (काेराेना भाइरस) महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने बताउनुभएकाे छ । केही समयता मत्थर हुँदै गएको कोभिड महामारी फेरि फैलिने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको हो । 

वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा आज बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यकाे विकास गर्नुपर्ने बताउनुभयो । क्यान्सरजस्ता घातक रोगहरूको समयमै सहज ढङ्गले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘कोभिड महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको छ । यसलाई पूर्णरूपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।’

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताउनुभयो । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरेको सुनाउनुभयाे । 

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढङ्गले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरे पनि त्यसको सदुपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गर्नुभयो । उहाँले वीर अस्पताल देशकाे सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

वीर अस्पतालका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले बिरामीको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले पूराना भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यकता रहेकाे बताउनुभयो ।

अस्पतालले बिरामीकाे स्वास्थ्य उपचारमा सकेको योगदान गर्दै आएको कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत बस्नेतकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया