राममनोहरको परिवार साथ लिएर सिके राउतको तस्बिरअंकित ब्यानरसहित पत्रकार सम्मेलन

 असोज ११, २०७५ बिहिबार १८:४:६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – प्रहरी नियन्त्रणमा रहेको अवस्थामा गम्भीर बिरामी भई मृत्यु भएका बाँकेको जानकी गाउँपालिका ६ कपासीका राममनोहर यादवको घटनापछि डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले खुला कार्यक्रम गर्न थालेको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा प्रहरीले शारीरिक तथा मानसिक यातना दिई यादवको हत्या गरेको दावी गर्दै गठबन्धनले परिवारको साथमा कार्यक्रम गरिरहेको छ । बिहीबार नेपालगञ्जमा गठबन्धनले पत्रकार सम्मेलन गरेको छ । 

पत्रकार सम्मेलनमा राम मनोहरका भाई विष्णुप्रसाद यादवबाहेक अधिकाँश गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । गठबन्धनका नेता कैलाश महतोले यादव गठबन्धनको समर्थक मात्रै भएको दावी गरे । 

प्रशासनले भने शव बुझ्नका लागि परिवारलाई आग्रह गरेको जनाएको छ । 

गएको भदौ ७ गते उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बर्दियामा भएको कार्यक्रममा कालो झण्डा देखाएको भन्दै यादवसहित ४ जनालाई 
प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतमा रहेको अवस्थामा यादव बिरामी भएपछि भेरी अञ्चल अस्पताल हुँदै राजधानीको शिक्षण अस्पतालमा उपचार भइरहँदा यादवको निधन भएको हो ।  

भदौ १५ गते मृत्यु भएपछि यादवका परिवारले अहिलेसम्म शव बुझ्न मानेका छैनन् । गठबन्धनले अधिकार सम्पन्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने, शहीद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, सन्तानको शिक्षादीक्षासहित परिवारको सम्पूर्ण स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

यादवको हत्या गरिएको  दावी गर्दै हत्यामा संलग्न उपप्रधानमन्त्री उपेन्द्र यादव फोरमका नेता कृष्णप्रसाद यादवसहित बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कानुनी कारबाहीको मागसमेत गरेको छ । 

राम मनोहरका परिवारका तर्फबाट आयोजना गरिएको भन्दै पत्रकारलाई खबर गरिएको भएपनि डा. राउतको तस्बिरअंकित ब्यानरसहित पत्रकार सम्मेलन भएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया