मुड्खु–तीनपिप्ले सडक : ‘मन्त्रीज्यू, आशा देखाएर निराश नबनाउनुस्’

 भदौ १२, २०७९ आइतबार १६:५३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मुड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गर्नुभएको छ । 

आज आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडक खण्डअन्तर्गतको मुड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गर्नुभएको हो । शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले याे सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले ठेक्का पाएको चार महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका मन्त्रीद्वय राई र श्रेष्ठ त्यहाँ पुग्नुभएकाे हाे । 

अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर अब काम सुरु गर्ने बताउनुभयो । उहाँले आम नागरिककाे माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसाबले काम भइरहेको बताउनुभयो । उहाँले ठेक्का पाएको कम्पनीले चार महिनाभित्र काम सकिसक्नुपर्ने बताउनुभयो । उहाँले स्थानीयवासीका समस्या समाधान हुन अब समय नलाग्ने भन्दै चार महिनामा नै सडक निर्माण भइसक्ने भएकोले ढुक्क हुन स्थानीयवासीसँग आग्रह गर्नुभयो । 

त्यस्तै सामान्य प्रशासनमन्त्री श्रेष्ठले विगतका सरकारले मुड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताउनुभयो । उहाँले अब भने फास्ट ट्र्याकबाट काम अघि बढाउने बताउनुभयो । उहाँले चार महिनामा नै सबै काम सकिने गरेर ठेक्का प्रक्रिया आह्वान गरिएकोले काम समयमा नै सकिने प्रतिबद्धता जनाउनुभयो । ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहित गर्न समयमा नै काम नसके क्षतिपूर्ति दिनुपर्ने नयाँ प्रक्रियागत व्यवस्थाको थालनी गरिएको उहाँकाे भनाइ थियाे । 

त्यस्तै सिसडोलका स्थानीयवासी भने निरीक्षणका लागि पुगेका मन्त्रीसँग रुष्ट देखिए । उनीहरूले सबै मन्त्री निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न आग्रह गरे । उनीहरूले सडक निर्माण नभएकै कारण विद्यार्थीले पढ्न नपाएको र जागिर खानेहरूले पनि दिनको पाँच सय रुपैयाँ तिरेर ट्याक्सीमा आउजाउ गर्नुपरेको दुःखेसो पोखे । 

स्थानीयवासीले आठ किलोमिटरभन्दा लामो रुटमा समेत कुनै सार्वजनिक गाडी नराखेको भन्दै मन्त्रीसँग आक्रोशित बने । मुड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक गाडी सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे । आशा देखाउनकै लागि अवलोकन गर्न पुगेको हो भने आशा देखाएर नै निराश नबनाइदिन उनीहरूको माग छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया