दसैँका लागि आजदेखि सहुलियत पसल खुले, कुन सामानमा कति छुट ?

 असोज १२, २०७५ शुक्रबार १२:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैँलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको समन्वयमा   विभिन्न निकायले शुक्रबारदेखि सुपथ मूल्य सञ्चालन थालेका छन् ।

आजदेखि कात्तिक २७ गतेसम्म पसल सञ्चालन हुने विभागले जनाएको छ । खाद्य संस्थानले काठमाडौंको रामशाहपथमा पसल सञ्चालनमा ल्याएको छ । संस्थानले घटस्थापनाको दिनदेखि मात्रै खसीबोकाको बिक्री थाल्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौंमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल अनि काठमाडौं बाहिरका डिपो र कार्यालय गरी २४ गरी ३६ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ  ।

यस्तै दुग्ध विकास संस्थानले नेपालभर १२ स्थानम सुपथ मूल्य चलाउने जानकारी दिएको छ । सहकारी पसल तथा डिलर अनि खुद्रा पसलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएर भएर सुपथ मूल्य पसल चलाउने भएका छन् । 

दसैंमा मूल्य सस्तो बनाउनको लागि विभिन्न उद्योगी, व्यापारी, सहकारी तथा उपभोक्ता अधिकारकर्मीबीच भएको छलफलमा उद्योगीहरु निम्न छुट दिने घोषणा गरेको विभागले जनाएको छ ।

  • दाल चामल उद्योगले दाल र चामलमा ३ प्रतिशत छुट दिने
  • दाल चामल थोक बिक्रेताले दाल चामलमा ३ प्रतिशत छुट दिने
  • तेल घ्यू उद्योगले प्रतिलिटर ३ रुपैयाँ छुट दिने
  • पैठारीकर्ताले आयातित तेलमा ५ लिटर किन्दा १ सय ५० रुपैयाँ छुट दिने
  • चिनी उद्योगले मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा बेच्ने
  • सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट दिने

यस्तै नेपाल खाद्य संस्थानले आफ्ना व्यापारिक बस्तुमा छुट दिने घोषणा गरेको छ । खाद्य संस्थानले निम्न सामानमा निम्न छुट दिँदैछ ।

  • सोना मन्सुली चामलमा ५ रुपैयाँ छुट दिएर ४० रुपैयाँ प्रतिकिलोमा बेच्ने
  • जिरा मसिनो चामलमा पनि ५ रुपैयाँ छुट दिएर प्रतिकिलो ५५ रुपैयाँमा बेच्ने
  • बास्मती चामल १० रुपैयाँ छुट दिएर ८१ रुपैयाँ प्रतिकिलो
  • गोरखानाथ चामल  १० रुपैयाँ छुट दिएर ३८ रुपैयाँ प्रतिकिलो
  • जापनीज चामलमा ५ रुपैयाँ छुट दिएर प्रतिकिलो ७५ रुपैयाँ
  • जुम्ली सिमीमा १० रुपैयाँ छुट दिएर १ सय २० रुपैयाँ
  • प्रतिकिलो जुम्ली तितेफापर १० रुपैयाँ छुट पछि ७० रुपैयाँ प्रतिकिलो
  • खसी  बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने । 

यस्तै साल्ट ट्रेडिङले पनि आफ्ना बस्तुमा छुट दिएको छ । साल्ट ट्रेडिङले निम्न सामानमा छुट दिएको छ ।

  • नुनमा २ रुपैयाँ छुट गरेर प्रतिकिलो १८ रुपैयाँ
  • चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट

यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना निम्न उत्पादनमा निम्न छुट दिएको छ । 

  • घ्यू ९ सय रुपैयाँमा ५० रुपैयाँ छुट दिएर प्रतिकिलो ८ सय ५० रुपैयाँ
  • पनिर १० रुपैयाँ छुटपछि  ६ सय १० रुपैयाँ प्रतिकिलो

बटर, दही, चिज, लस्सी, आइसक्रिमलगायतका उत्पादनमा पनि केही छुट दिने संस्थानले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया