बलात्कारी र जघन्य अपराधीलाई फाँसीको सजायको व्यवस्था गर्न नेकपाका नेतृको माग

 असोज १२, २०७५ शुक्रबार १४:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दवाव दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् ।

पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

त्यसक्रममा महिला नेतृहरुले पार्टी नेता समेत रहनु भएका गृहमन्त्री थापालाई सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफूहरु आफैं लज्जित हुने अवस्था आएको गुनासो पनि गरेका थिए ।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ तथा प्रदेश ३ कि सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । उहाँले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कार्वाही गर्न सरकारलाई गम्भिर बन्न सचेत गराउनु भयो ।

यता, गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दाबी गर्नु भएको थियो । उहाँले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषिलाई कारबाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिनु भएको थियो ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढ्दै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन । उनीहरुले त्यस घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भिर नभएको आरोप पनि लगाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया