गाउँपालिका अध्यक्षका भाइले वडाध्यक्ष कुटे

 असोज १२, २०७५ शुक्रबार १४:२५:५४ | राजु लामिछाने
unn.prixa.net

त्रिवेणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शाेभाराम बाेहाेरा

रुकुम पश्चिम – त्रिवेणी गाउँपालिका वडा नं. २ का अध्यक्षलाई गाउँपालिका अध्यक्षका भाइले कुटेका छन् । 

गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीका भाइ टोपबहादुर घर्ती र बाँदरपानी खानेपानी व्यवस्थापन समितिका अध्यक्ष खेलबहादुर बुढाथोकीले आफूमाथि कुटपिट गरेको वडा नम्बर २ का वडाअध्यक्ष शोभाराम बोहराले बताउनुभयो । शुक्रबार बिहान खानेपानीको विवाद सुल्झाउन वडाध्यक्ष सक्रिय रहेको भन्दै कुटपिट गरिएको वडाध्यक्ष बोहराले बताउनुभयो ।

वडाध्यक्ष बोहराका अनुसार गाउँपालिका अध्यक्ष घर्ती र खानेपानी अध्यक्ष बुढाथोकीको पारिवारिक संलग्नतामा गाउँपालिकाको वडा नं. २ मा आउने पानीको पाइप काटिएको थियो । ‘मैले खानेपानीको पाइप जोड्न पहल गरेको र पाइप लाइन काट्ने माथि कारबाही गर्ने कदम अगाडि बढाएपछि उहाँहरु आत्तिएको देखियो’, वडा अध्यक्ष बोहराले भन्नुभयो, ‘गाउँपालिका अध्यक्षले नजोड्नु भनेको खानेपानी लाइन जोड्न निर्देशन दिने तँ को होस् भन्दै अध्यक्षका भाइसमेत ममाथि आइलागे ।’ 

उहाँका अनुसार, खानेपानीको लाइन काटिएपछि पीडित जनताले पटक–पटक खानेपानीको पाइप जोडिदिन र पाइप काट्नेलाई कारबाही गर्न माग गर्दै लिखित तथा मौखिक निवेदन दिएका छन् । खानेपानीबाट बन्चित ३६ परिवारले असोज ५ गते पानी वितरण गर्न माग गर्दै वडा कार्यालय घेराउसमेत गरेका थिए ।

त्यसपश्चात वडा कार्यालयद्वारा खानेपानी समितिलाई एक हप्ताभित्र काटेको पाइप जोड्न निर्देशन दिएर खानेपानी समितिलाई पत्राचार गरिएको थियो । 

कुटपिटपछि वडा अध्यक्ष बोहराले दोषीलाई कारबाहीको र सुरक्षाको माग गर्दै प्रहरी चौकी सिमु्रतुमा निवेदन दिनुभएको छ । प्रहरी चौकी सिम्रुतुका इन्चार्ज टंक भट्टराईका अनुसार, वडा अध्यक्षबाट सुरक्षा र कारबाहीको माग गर्दै निवेदन आएकोले दुवै पक्षहरुलाई सम्पर्कमा ल्याएर गाउँपालिका अध्यक्षको रहोबरमा छलफल गरिने छ । 
 

- यसअघि वडाध्यक्ष बाेहाेराकाे तस्बिरमा अर्कै तस्बिर पर्न गएकाेमा माफी चाहन्छा‌ैँ - सम्पादक

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया