नेपाल–चीन उर्जा संयन्त्र बैठक सुरु

 असोज १२, २०७५ शुक्रबार १५:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धी समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा ठोस योजना तय गर्न दुवै देशका उर्जा संयन्त्रको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएको समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा केन्द्रित भएर बैठक सुरु गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहानिर्देशक हि याङले नेतृत्व गर्नु भएको छ । बैठकमा दुवै देशको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान आवश्यक लगानी, क्रम बोर्डर ट्रान्समिसन लाईन निर्माण, दुवै देशको उर्जाको सम्भाव्यता र मागका विषयमा पनि विस्तृत छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

गएको असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री ओलीले गर्नु भएको चीन भ्रमणको क्रममा भएको उर्जा सम्बन्धी समझदारीलाई कार्यान्वयनमा लैजान प्रथम चरणको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो । २ दिनसम्म चल्ने बैठकले उर्जा सम्बन्धमा ठोस योजना तय गर्ने पनि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

सरकारले यो बैठकबाट नेपालको उर्जा क्षेत्रमा चिनियाँ लगानी बढाउन सहज हुने अपेक्षा पनि गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया