‘गएकाे वर्षको बाढीले सर्वस्व लुट्यो, यस वर्ष के हुने हो ?’

 असोज २, २०७९ आइतबार १४:१०:५ | रासस
unn.prixa.net

बझाङ - खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की बिरामी पर्नुभएको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उहाँको परिवार गएकाे हप्ता नेपाल फर्कियाे ।उनीहरू बझाङको तमैल बजारसम्म गाडीमा आए । तमैलबाट भने ‘स्टेचर’काे सहारामा आफन्तले सार्कीलाई घर पुर्याए । 

गएकाे वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि गाडी आवतजावत बन्द भएकाे छ ।  छोरा राजु सार्कीले भन्नुभयो, 'बिरामी बोकेर आएकाे, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौँ । हत्तपत्त पहिरो छल्दै अगाडि बढ्याैँ ।'

'कान्छो भाइलाई काकासँग छोडेर आयौँ', राजुले भन्नुभयो, 'डाक्टरले गाउँमै लैजान सुझाव दिएपछि घर आएका हौँ । यता बाटो नै रहेनछ । एक/दुई जनालाई पनि अघिपछि हिँड्नै नसक्ने ठाउँमा स्टेचरमा दुई जना अघि दुई जना पछि गरेर मुस्किलले घर पुगेका छौँ ।'

सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैका लागि दुःख बनिरहेको छ । छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काइएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ । छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैँ दुःख दिने गरेको खप्तड छान्ना–५ का कृष्ण थापा बताउनुभयो । 'जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छ', उहाँले भन्नु भयो, 'गएकाे वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिँँड्नुपर्छ । बाटो नै हुँदैन । बनाइएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन ।'

बाटो सहज नहुँदा बिरामीलाई बोक्नुपर्यो भने त ज्यान नै तलमाथि हुनसक्ने उहाँले बताउनुभयाे। गएकाे वर्ष असोज ३० गतेदेखि कात्तिक ३ गते सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौँको भौतिक क्षति भएको थियो भने छ जनाको ज्यानै गएको थियो । मौसम पूर्वानुमान महाशाखाले गएकाे वर्षको बाढीले गलेको जमिन बग्न सक्ने जनाउँदै सतर्क रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने सङ्कटमा परेका छन् ।

खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खाती भन्नुहुन्छ, 'मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने सङ्केत गरेको छ । अब हाम्रो त कतै जाने ठाउँ पनि छैन । गएकाे वर्षको बाढीले सर्वस्व लुट्यो । यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौँ ।'

उहाँका अनुसार खातीगाउँमा पानी परेको दिन रातभर स्थानीय बासिन्दा जाग्राम बस्छन् । दिउँसो उनीहरु आँगनमै जडारीगाड हेरेर टोलाउँछन् । 'अब के गर्ने, कता जाने, के खाने पनि टुङ्गो छैन । गएकाे वर्षको बाढीले सबै लुट्यो । अहिले रित्तै छौँ', उहाँ भन्नुहुन्छ । खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउनुहुन्छ । 'योभन्दा अगाडि बजेट पनि थिएन । अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौँ । अब कार्यान्वयन हुन्छ ।'

उहाँ विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउनुहुन्छ । 'गएकाे हप्ता विपद्सम्बन्धी पूर्वतयारीका लागि बैठक पनि बसेको थियो । त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौँ । हाम्रो गाउँपालिकामा रहेको डाेजर तयारी अवस्थामा राखेका छौँ,' उहाँ भन्नुहुन्छ । उहाँले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुहुन्छ । जडारीगाडले बाटो क्षति पुर्याएका ठाउँमा पनि वैकल्पिक बाटो बनाइएको छ । उहाँका अनुसार घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार पारिएको छ । 

'पहिराेकाे जाेखिम भएकाे ठाउँमा पनि नजानका लागि नागरिकमा अनुरोध गरेका छौँ', अध्यक्ष खाती  भन्नुहुन्छ, 'गाउँपालिकाभरि आएका पहिराेमा नहिँड्नका लागि पनि सबैलाई आग्रह गरेका छौँ । कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राखेका छौँ ।' उहाँले गाउँपालिकामा गर्भवतीको अवस्था हेरेर सरकारी हेलिकप्टरको व्यवस्था गर्ने जानकारी दिनुभयो । 'असोजमा हुने सुत्केरीको नामावली तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौँ । बच्चा जन्माउन नसक्ने अवस्था भएमा तत्काल हेलिकप्टरमार्फत ‘रेफर’ गर्नेछौँ । यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौँ', उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया