चुरे पहाड आसपासका दर्जनौं बस्तीमा खानेपानीको अभाव

 असोज १४, २०७५ आइतबार १५:३५:२५ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – खडेरी र सुक्खा मौसमका कारण सप्तरी, सिरहा, उदयपुरलगायत चुरेपहाड आसपासका दर्जनौं बस्तीमा खानेपानीको अभाव सुरु भएको छ ।

चुरे पहाडदेखि बग्ने अधिकांश खोलाको मुहान सुक्न थालेपछि बस्तीमा भएका इनार, कुवा तथा ट्युवेलमा पानीको अभाव देखिन थालेको छ । नदीमा पानी सुकेपछि कतिपय खानेपानी योजना समेत प्रभावित भएका छन् ।

सप्तरीको सप्तकोसी नगरपालिका–१, फत्तेपुरमा रहेको खोरिया टोलको सुख्खा क्षेत्रका लागि सञ्चालित अमाहा खानेपानी योजना पानी अभावकै कारण प्रभावित हुँदै आएको छ । 

आयोजनाका लागि पानी प्रयोग हुँदै आएको अमाहा खोलाको शाखा खोला (मूल खोला)मै पानी सुकेको स्थानीयले बताएका छन् । सरकारी स्तरबाट सुरु गरिएको यो योजना अहिले समुदायले सञ्चालन गर्दै आएका छन् । 

‘खोलामा पानी बग्न छोडेपछि ट्यांकीमा पर्याप्त पानी जम्मा हुँदैन’, स्थानीय लालबहादुर विष्ट भन्छन्, ‘कहिलेकाहीँ त २ र ३ दिनसम्म पानी आउँदैन ।’ योजना प्रभावित हुँदा यस क्षेत्रका झण्डै १ सय ५० घरधुरी खानेपानीको संकटमा पर्ने गरेका छन् ।

सुख्खा मौसममा पानी सुक्ने र वर्षा लागेपछि बाढीले पाइप बगाउने गर्दा अमाहा खानेपानी योजना भरपर्दो नभएको खोरियाटोलका बासिन्दाको गुनासो छ । इनार र ट्युवेलमा समेत पानी नआउने भएकाले यस क्षेत्रका लागि वैकल्पिक व्यवस्था खोज्नुपर्ने स्थानीयहरु बताउँछन् ।

यसका साथै पानीको स्रोत सुक्न थालेपछि सप्तरीको साबिक गंगाजली, बलार्दह, रुपनगर, प्रिपा पश्चिम, हर्दिया, कल्याणपुर, महुलीलगायतका क्षेत्रमा खानेपानीको संकट गहिरिँदै गएको छ ।

‘पहाडबाट बग्ने खोलामा पानी बग्दैन, त्यसैले पहिलेको जस्तो जताजतै पानीको स्रोत अब छैन’, फत्तेपुरका युवा पारस दाहाल भन्छन्, ‘यस्तै अवस्था रह्यो भने १५ र २० वर्षपछि चुरेको पुछारमा रहेका गाउँ पानीको संकटकै कारण विस्थापित हुनुपर्ने अवस्था आउँछ ।’

यसैगरी बढ्दो जनसंख्यासँगै वनजंगलको विकास र जलवायु परिर्वतनको असरले खोलामा पानीको मुहान सुक्न थालेको स्थानीयबासीहरु बताउँछन् । चुरे पहाडमा मुहान भएका सिरहा, सप्तरी र उदयपुरतर्फ बग्ने साना र ठूला गरी झण्डै ३ दर्जन खोलाको अवस्था यस्तै छ । जसमध्ये एक दर्जनभन्दा बढी खोला सिरहा र सप्तरीतर्फ तथा झण्डै २ दर्जन खोला उदयपुरतर्फ बग्ने गरेका छन् ।

सिरहाको बलान र सप्तरीको महुली, खाडोलगायतका खोलामा वर्षाको समयमा पानीभन्दा बढी बालुवा र माटोको लेदो बग्ने गरेको छ । जमिनमुनिको पानीको स्रोत भास्सिँदै गएको र बालुवा थुप्रिँदै गएको स्थानीयहरु बताउँछन् ।

पानीको स्रोत सुक्दै जाँदा उदयपुरको कटारी र त्रियुगा नगरपालिकासहित रिस्कु, भलाय डाँडा, जोगी दह, हँडिया, सुन्दरपुर, चौदण्डी, मैनामैनी, लेखानी, मंयखु, डुम्रे, बर्रेलगायतका क्षेत्रमा खानेपानीको समस्या छ ।

पानी अभावमा पहाडी क्षेत्रका गाविसका दर्जनौं बस्ती बसाइँ सरी त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा सरेका छन् । तर अहिले त्यहाँ पनि स्रोत सुकेकाले समस्या भएको स्थानीय बताउँछन् । पानी नहुँदा पशुपालन र कृषि व्यवसाय मात्र नभई मानिसले समेत संकट भोग्नुपरेपछि गुजारा गर्न गाह्रो हुन थालेको स्थानीयहरु बताउँछन् ।

पानीको मुहान सुकेपछि सिरहाको तरेगना गोविन्दपुर र विष्णुपुरकट्टीका सयौं सर्वसाधारण बसाइसराई गरेर अन्यत्र गएका छन् भने चन्द्रो उदयपुर, बडरामाल, कर्जनालगायतका क्षेत्रमा अहिले पनि पानीको समस्या यथावत् छ ।

वनजंगलको विनास तथा जलवायु परिवर्तनका कारण खोलामा पानिको स्रोत सुकेको स्थानीयहरु बताउँछन् । २०७२ सालको भूकम्पका कारण पनि पानीका स्रोतमा असर पुगेको जानकारहरुको भनाइ छ ।

समयमै पर्याप्त वर्षा नहुँदा झन् संकट उत्पन्न भएको भन्दै सर्वसाधारणहरु अहिले पानीको वैकल्पिक स्रोतको खोजीमा जुटेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया