काठमाडौंमा चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू

 असोज १४, २०७५ आइतबार १६:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौले दसैं, तिहारजस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराइएको हो ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ । त्यसैगरी चाठपर्वमा बढी भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि प्रमुख लामाले बताउनुभयो ।

नागरिकको जीउ धनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिसरले परिचालन गरेको छ । गस्ती टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य पनि गर्नेछ ।

परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय ३५ जना जनशक्ति परिचालन गरेको छ ।  टिकट काउन्टर र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा परिसरले पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेको छ ।

प्रमुख लामाले व्यक्तिको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थाहरुमा हुने लुटपाट नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया