बाँकेको खजुरामा कृषि क्याम्पस सञ्चालनमा आउँदै

 असोज १६, २०७५ मंगलबार १३:३२:३३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको खजुरा सन्तकुटीमा कृषि क्याम्पस सञ्चालनका हुने भएको छ । 

खजुरा गाउँपालिका –३, मा रहेको जनता नमुना माविको ९ बिघा जग्गामा कृषि क्याम्पस स्थापना हुन लागेको कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य आईपी खरेलले जानकारी दिनुभयो ।

कृषि क्याम्पसका लागि बजेट पनि छुट्टाएको कारण भौतिक पूर्वाधार निर्माण र पठनपाठन छिट्टै सुरु हुने खरेलले बताउनुभयो । जनता माविमा कृषि क्याम्पस स्थापनाका लागि कृषि तथा वन विश्वविद्यालय रामपुरबाट सम्बन्धन लिइएको छ ।  क्याम्पसमा बीएस्सी कृषिको पढाइ तत्काल सुरु हुने र क्रमशः वन विज्ञानको समेत अध्यापन गराउने खरेलले जानकारी दिनुभयो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र  कृषि तालिम केन्द्र तथा कपास विकास समितिको केन्द्रीय कार्यालय रहेको खजुरामा लामो समयदेखि कृषि क्याम्पस स्थापनाको पहल भइरहेको छ । हाल जनता नमूना माविको स्वामित्वमा रहेको कित्ता नम्बर ११, २४,२५ र २६ को ६ बिघा तथा कित्ता नम्बर १० को क्षेत्रफलबाट ३ बिघा गरी ९ बिघा जग्गा प्रस्तावित खजुरा कृषि क्याम्पसका लागि उपलब्ध गराउने भन्दै विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, खजुरा गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाईबाट सिफारिस शिक्षा मन्त्रालयमा पठाइएको थियो ।

सङ्घीय संरचना अनुसार स्थानीय तहले नै जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सक्ने भन्दै असोज १२ गते शिक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गरेको छ । मन्त्रालयको निर्णयपछि अब खजुरा गाउँपालिकाले मालपोत कार्यालयलाई पत्र पठाएपछि ९ बिघा जग्गा कृषि क्याम्पसले प्राप्त गर्ने छ । 

उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस्

  

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया