चुनाव : किन आकर्षित भयो नयाँ पुस्ता ?

 कात्तिक २२, २०७९ मंगलबार १३:१८:४४ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब १२ दिन मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्‍याउन दिनरात खटिएका छन्।

चुनावमा मुख्य प्रतिस्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको चुनावमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ ।

वैशाखमा सम्पन्न पालिका चुनावमा धरानबाट हर्क साम्पाङ, काठमाण्डाैमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जित नै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको हुनसक्छ ।

राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र पालिकामा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न चुनावमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ ।

काठमाण्डाै उपत्यका अन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधि सभाका लागि कायम १५ वटा सिटका लागि कुल तीन सय ६० उम्मेदवारमध्ये एक सय २८ जना त स्वतन्त्र उम्मेदवार नै छन् । जुन ३५ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी तीन जिल्लामा प्रदेश सभाका ३० सिटका लागि तीन सय ४० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । 

प्रतिनिधि सभा अन्तर्गत काठमाण्डाै क्षेत्र नम्बर ७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी छ । यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको सङ्ख्या १३ मात्रै छ । त्यसैगरी प्रदेश सभातर्फ सबैभन्दा बढी ललितपुर चुनाव क्षेत्र नम्बर १ को प्रदेश सभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि काठमाण्डाैका १० चुनाव क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुरका २ चुनाव क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ चुनाव क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् । 

स्वतन्त्रको लहर

ललितपुर चुनाव क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेश कुमार केसी आफूहरुको लडाइँ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउनुहुन्छ । चुनावमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढ्नुको अर्थ राजनीतिक दलहरु ‘सिक्डिकेट’को विरोध भएको उहाँको भनाइ छ । 

'राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले ठाउँ पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरु अगाडि आउनु परेको हो, परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन', उहाँले भन्नुभयो । 

केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्नुहुन्छ । 'म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु,' उहाँले भन्नुभयो, 'अब देशको जिम्मेवारी युवाको काँधमा आएको छ, सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।' यो चुनाव मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइँ समेत भएको उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवारहरुको देशैभरि फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उहाँले बताउनुभयो ।

केसीको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र नेकपा (एमाले)का प्रेम बहादुर महर्जनका साथै आफू जस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका महर्जनले २०७४ सालमा नेकपा एमालेका उम्मेदवारकारुपमा २७ हजार सात सय १३ मत प्राप्त गरी विजयी हुनु भएको थियो । महर्जनसँग पराजित नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी काठमाण्डाै क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका राजेन्द्र प्रसाद पाठक संविधान प्रदत्त मौलिक हक स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क बनाउने आफ्नो एजेण्डा रहेको बताउनुहुन्छ । लामो समय कानुन र पत्रकारितामा सक्रिय पाठक मौलिक हकको पूर्ण कार्यान्वयनमार्फत् नागरिकको आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनामा हुनुहुन्छ । 

'स्वास्थ्य र शिक्षाबाहेक पानी र बिजुलीसमेत निःशुल्क गर्ने मेरो एजेण्डामा छ', उहाँले भन्नुभयो, 'म निर्वाचित भए प्रत्येक महिनामा दुई पटक पालिकाको समस्या बुझेर समाधानमा केन्द्रित हुनेछु ।' 

पाठक सङ्घीय संरचना र धर्मनिरपेक्षता खारेज गर्ने पक्षमा आफूलाई उभ्याउनु भएको छ । लामो समयसम्म नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलमा आवद्ध भइ काम गर्नुभएका पाठक पछिल्लो एक वर्षदेखि पार्टी परित्याग गरी स्वतन्त्र हुनु भएको छ । 

त्यसैगरी २०७४ को पालिका चुनावमा काठमाण्डाै महानगरपालिका मेयरमा उम्मेदवारी दिएर चर्चा बटुल्न सफल रञ्जु न्यौपाने पनि यतिबेला स्वतन्त्र उम्मेवारका रुपमा काठमाण्डाै क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिनु भएको छ । न्यौपानेले चुनावी मैदानमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसका साथै अभियन्ता हेमराज थापा पनि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएको छ । 

न्यौपाने आफू निर्वाचित भए मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुहुन्छ । 'अहिले प्रत्येक घरमा मानसिक समस्या झेलिरहेका व्यक्तिहरु छन्, मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति पनि समयसापेक्ष छैन, त्यसलाई सम्बोधन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ', उहाँले भन्नुभयो । 

उसो त ‘लौरो’ चिह्नबाटै बालेन र हर्कले पाएको जितबाट हौसिएका केही युवाहरुले ‘लौरो’ चुनाव चिह्नलाई अभियानका रुपमा अघि बढाएका छन् । लौरो अभियानलाई साङ्गठनिक स्वरुप दिँदै ‘हाम्रो नेपाली पार्टी’मार्फत् उनीहरु यतिबेला स्वतन्त्रकै शैलीमा चुनावमा होमिएका छन् ।

काठमाण्डाै क्षेत्र नं ७ बाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका इञ्जिनियर आकर्षण पोख्रेल (प्रबेन्द्र पोख्रेल) आफू निर्वाचित भएमा नीतिगत कामलाई केन्द्रित दिने बताउनुहुन्छ । 

पोख्रेलले यस क्षेत्रमा आफू जस्तै १३ जना राजनीतिक दलका उम्मेदवारका अतिरिक्त १६ जना स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस क्षेत्रमा सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बन्नु भएकी नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह ( मानुषी यमि) भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे र एमालेका बागी उम्मेदवार राम वीर मानन्धरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

लामो समय अमेरिकामा बसेर नेपाल फर्कनु भएका पोख्रेल चुनाव क्षेत्रमा नागरिकका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने उहाँको दाबी छ । पोख्रेलले चुनावी एजेन्डामा १० वटा सङ्कल्प अगाडि सार्नु भएको छ । 

'यस क्षेत्रका नागरिकमा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहर, स्वास्थ्य उपचार र महँगीलगायतका कैयन समस्या छन्', उहाँले भन्नुभयो, 'यी यस्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ ।'

सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यक भएको पोख्रेलको भनाइ छ ।

त्यसका साथै, ढल तथा फोहर व्यवस्थापन नीति बनाइ पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सडक छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाउने, दक्षिण उत्तर पर्यटन राजमार्गको रुपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । त्यसैगरी हाम्रो नेपाली पार्टीकै तर्फबाट काठमाण्डाै क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिनु भएका सुमन सायमी सडक विस्तारको स्थानीयवासीका समस्या समाधानमा आफू केन्द्रित हुने बताउनुहुन्छ ।

गएकाे पालिका चुनावमा काठमाण्डौ महानगरपालिकाका मेयरका रुपमा उम्मेदवार समेत रहनु भएका उहाँले तत्कालीन समयमा १३ हजार ७ सय ७० मत प्राप्त गर्नुभएको थियो । पालिकामा प्राप्त गरेको मतले उहाँ यतिबेला प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । सडक विस्तारका क्रममा विस्थापित बासिन्दालाई रोजगारीसहित पुनर्स्थापनाको मुद्दा उठाउँदै आउनु भएका सायमीले लालपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जा दिलाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुहुन्छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया