सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालय

 मंसिर ४, २०७९ आइतबार २१:११:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ । गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ मा रहेकाे नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एकजनाको ज्यान गएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिनुभयो । 

ज्यान जानेमा स्थानीय सञ्जीव ऐडी रहेको जनाइएको छ । आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एकजनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उहाँले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताउनुभयो ।

उहाँले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताउनुभयो । दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उहाँको भनाइ छ । स्थानीयले ढुङ्गा र बाँसले हानेर केही प्रहरीसमेत घाइते भएका उहाँले बताउनुभयो ।

उहाँले बाजुरा, सुर्खेतलगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको पनि बताउनुभयो । अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा रहेको सचिव सिंहले जानकारी दिनुभयो ।

बाजुराका सहायक प्रजिअ लोकेन्द्रबहादुर विष्टले उक्त घटनामा एकजनाको ज्यान गएको र दुई घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको जानकारी दिनुभयो । त्यस क्षेत्रमा अहिले नेपाली सेनाको टोलीसमेत पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया