माधव नेपालले पुरानो गीत सम्झनु भएको हो, असन्तुष्टि होइन : प्रधानमन्त्री ओली

 असोज १८, २०७५ बिहिबार १७:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही सरकार ५ वर्ष चल्ने र यसैले नै ५ वर्षपछि चुनाव गराउने दावी गर्नुभएको छ । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर केही बेरअघि स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षड्यन्त्र भैरहे पनि विकास र समृद्धिको बाटोमा सरकारले काम गरिरहेकाले सानातिना विरोधले कुनै असर नगर्ने दावी गर्नुभयो ।

कम्युनिष्ट नेताहरुमा विरोधको स्वाभाव हुनु स्वभाविक भएको भन्दै उहाँले अबका दिनहरुमा झनै सरकार बलियो बनेर उभिने बताउनुभयो । उहाँले पार्टीभित्र केही असन्तुष्टि प्रकट हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई झनै बलियो बनाएर अघि बढाउने बताउनुभयो । 

केही दिनअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै देश डुब्नै लागेको बताउनुभएको थियो । 

त्रिभुवनमा विमानस्थलमा सरकारको सत्तारुढ दलका वरिष्ठ नेताबाटै आलोचना भयो नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रधानमन्त्री ओलीले त्यो ठूलो कुरा नभएको बताउनुभयो । उहाँले माधव नेपालको कवि मन पलाएको र त्यसै कारण पुरानो गीत सम्झनु भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बहसको विषय नबनाउन पनि आग्रह गर्नुभयो । उहाँले नेता नेपालसँग २०२९ सालदेखि घनिष्ट सम्बन्ध रहेको भन्दै ढुक्क हुन आग्रह गर्नु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीको प्रश्नको जवाफ दिँदै नेता नेपालको असन्तुष्टिसम्बन्धी समस्या २/४ दिन भित्रै समाधान हुने प्रतिक्रिया पनि दिनुभयो । उहाँले सरकारले एउटा पनि गल्ती नगरेको दावी गर्नुभयो 

त्यस्तै पार्टी एकीकरण नै हुँदैन भन्ने हल्ला चलाउनेहरुले नेकपाको स्थानीय तहमा विवाद छ भनेर हल्ला चलाएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 

महासभामा सहभागी हुन प्रधानमन्त्री ओली असोज ६ गते शनिबार अमेरिकाको न्यूयोर्क जानुभएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया