पाँचौँ टेष्टको दोस्रो पारीमा भारतको खराब ब्याटिङ, फाइनल पुग्न...
पुस २०, २०८१ शनिबार
नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले) को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बन्नुभएका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काउनुभएको हो ।
गएकाे आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गर्नुभएको थियो । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाउनुभएको छ । नवलपुरको निर्वाचन क्षेत्र नं २ बाट २०४८ को चुनावमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी २०५१ को मध्यावधि चुनावमा एमालेका चन्द्रमणि खराल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०५६ सालमा भएको आमचुनावमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित हुनुभयो । पहिलो संविधानसभा सदस्यको चुनाव २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी दोस्रो संविधानसभा सदस्यको चुनाव २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आम चुनाव २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री यहाँबाट निर्वाचित हुनुभएको थियो । उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार कार्कीसँग दुई हजारभन्दा बढी मतान्तरले पराजित हुनुभयो । एमालेको तीन दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी बताउनुहुन्छ ।
'यहाँ एमालेको राम्रो प्रभाव रहेको छ, प्रदेशको दुवै क्षेत्र एमालेले जितेको अवस्थामा सङ्घ हामीले जित्नु ठूलो उपलब्धि हो', जिसीले भन्नुभयो, 'यो जितलाई आउँदाे दिनमा कायम राख्नका लागि हामीलाई अझ बढी चुनौती थपिएको छ ।'
यहाँको दुवै प्रदेश सभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जित निकालेका थिए । प्रदेशमा जितेको पार्टी सङ्घमा हार्दा साङ्गठनिकरूपमा एमालेलाई धक्का लागेको पार्टीका जिल्ला अध्यक्ष रोशबहादुर गाहा मगरले बताउनुभयो ।
'पार्टीले नसोचेको निर्वाचन क्षेत्रमा हार बेहोरेको छ', मगरले भन्नुभयो, 'हामी यहाँ के कारणले हार्यौँ भन्ने विषयमा हामीले पार्टीको समीक्षा बैठकमा निर्णय गर्नेछौँ ।' साङ्गठनिकरुपमा बलियो भए पनि हार्नुको कारण खोतलिने मगरको भनाइ छ ।
नवलपुर–२ मा अघिल्लो २०७४ काे चुनावमा कार्की एक हजार तीन सय तीन मतले क्षेत्रीसँग पराजित हुनुभएको थियो । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।