चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

 असोज २०, २०७५ शनिबार १५:५९:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पुरस्कार प्रदान गर्नुभयो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले बर्सेनि ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्रदान गरिएको पब्लिकेसनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि बर्सेनि हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।

पुरस्कार प्राप्त गरेपछि चन्द्रागिरि प्रालिका अध्यक्ष ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिकाजस्ता अरु पनि कैयौँ हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि पनि आधार बन्नुपर्छ भन्ने सन्देश मिलेको बताउनुभयो ।

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन दुई हजारदेखि २२ सयको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

चन्द्रागिरि हिल्स प्रालिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार हिल्समा केबल कार चढेर गएको वर्षसम्म झण्डै साढे सात लाख पर्यटक पुगेका थिए ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया