विषाक्त खाना खुवाएकाे भन्दै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिबाना

 पुष १, २०७९ शुक्रबार २०:२९:३ | रासस
unn.prixa.net

चितवन - विषाक्त खाना खुवाएको चितवन गार्डेन रिसोर्ट  (सीजीआर) लाई तीन लाख रुपैयाँ जरिबाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको हो ।

समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले त्यही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम तीन लाख रुपैयाँ जरिबाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ ।

अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिबाना सिफारिस गरेको हो । अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । गएकाे मङ्सिर २३ गते नवलपुरको गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको यस होटलमा भएको एक विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए ।

भरतपुरको नेशनल सिटी अस्पतालमा झाडापखाला, वान्ता तथा रिँगटा लागेर भर्ना भएका बिरामीबाट गरिएको नमुना परीक्षणमा उनीहरूले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । 

होटलले खानामा गम्भीर लापरबाही गरेको पाइएको बताउँदै उहाँले दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदिमा त्यस्तो ब्याक्टेरिया भएको हुन सक्ने बताउनुभयो ।

समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिङ्गा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया