जनताको सचेत आन्दोलनबाट बनेको सरकारलाई कर्कलोको पानीको रुपमा टिप्पणी नगराैं: प्रम अाेली

 असोज २१, २०७५ आइतबार १९:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि खोस्न नसक्ने बताउनु भएको छ ।

उहाँले मुलुक प्रतिगमनतिर जान्छ की भनेर निरर्थक कुरा नगर्न पनि आग्रह गर्नुभयो । पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ काे आइतबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न जनताले बहुमतसहितको सरकार दिएको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले पाएको बहुमत भवितव्यमा नआएको पनि बताउनु भयो । उहाँले जनताको सचेत आन्दोलनद्वारा बनेको सरकारलाई कर्कलोको पानीको रुपमा टिकाटिप्पणी नगर्न पनि सचेत गराउनु भयो ।

नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक प्रक्रिया भित्र रहेको र सोही प्रक्रियाबाट अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

पुस्तकले मुलुकलाई अघि बढाउन सघाउ पुर्‍याउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि, विकासका लागि अरु पुस्तक लेख्दै जान पनि पत्रकार कँडेललाई शुभकामना दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीबीचको एकता मुलुकलाई अघि बढाउन गरिएको स्पष्ट पार्नुभयो । उहाँले माओवादी जनयुद्ध ठिक समयमा व्यवस्थापन गरेर आफूले शान्ति प्रक्रियालाई अवतरण गराएको पनि स्मरण गराउनु भयो ।

माओवादी सशष्त्र संघर्ष, रुपान्तरण र एमाले–माओवादी एकताका विषयवस्तु समेटिएको पुस्तक विमोचन कार्यक्रममा का‌ंग्रेस नेता शेखर कोइराला, प्राध्यापक कृष्ण खनाललगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया