प्रदेश १ : मुख्यमन्त्रीकै प्रस्तावमा सहमति जुटेन, प्रदेश नाम र राजधानीको टुङ्गो लागेन

 असोज २३, २०७५ मंगलबार ८:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेशसभा बैठक मंगलबारदेखि स्थगित हुने संकेत देखिएको छ । यही अधिवेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिवेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । 

एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमति जुटाउनको लागि बसेको नेकपा संसदीय दलको बैठक पनि सांसदहरुले आफ्नो धारणा राखेपछि स्थगित भएको छ । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको हो ।

विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र अन्य जिल्लामा सरकारका नियकाहरु विकेन्द्रीत गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा सत्तारुढ दल नेकपाका २ जना सांसद बाहेकका सांसदले असहमति जनाएपछि राजधानीको विषय अन्यौलमा परेको हो । राजधानी र प्रदेशको नामबारे एक सातादेखि बहस र छलफल ब्यापक भए पनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेश सभामा प्रवेश नै गरेको छैन ।

सोमबार सदन अन्त्य गर्ने बारेमा मुख्यमन्त्री शेरधन राईले प्रमुख सत्तापक्ष र प्रतिपक्षी दलसँग बैठक गरी औपचारिक जानकारी गराएका छन् । नामकरण र राजधानीको प्रस्ताव आउँदो हिउँदे अधिवेशनमा लग्ने गरी चालू बर्खे अधिवेशन आज अन्त्य गर्ने सरकारले निर्णय गरेको हो ।

नामकरण र राजधानीलाई थाती राखेर हिउँदे अधिवेशनमा प्रस्ताव लैजाने गरी संसद अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीले बैठकमा प्रस्ताव गरेका थिए । त्यसमा सबैले सहमति जनाएपछि मंगलबारदेखि सदन वर्खे अधिवेशन अन्त्य हुने भएको हो । मंगलबार ११ बजे बोलाइएको संसद बैठकमा प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्य गरिएको चिठी पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया