हवाई दुर्घटना : छानबिन समितिका प्रतिवेदन कार्यान्वयन भएका छैनन्

 माघ १, २०७९ आइतबार १८:१:६ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटना न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ । 

मानवीय क्षतिको हिसाबले आज आइतवार पोखरामा यति एयरलाइन्सको विमान  दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाण्डाैबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । 

भर्खरै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो । तुलनात्मकरूपमा सुरक्षित मानिएको एटीआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैँमा दुर्भाग्य भएको वायु सेवा सञ्चालक सङ्घका प्रतिनिधि एवम् आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।

नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटीआर नै दुर्घटनामा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु सङ्ख्यालाई ध्यान दिएर एटीआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । आचार्यका अनुसार एटीआर सिरिजका विमानले इन्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ । 

हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरूको भनाइ छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ आज बिहान पोखरामा भएको यति एअरलाइन्सको दुर्घटना पनि आफैँमा ठूलो हो ।  

सरकारले पोखरामा आज बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे हुनुहुन्छ । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाश प्राप्त उपरथी) र सुनिल थापा (अवकाश प्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ थापा हुनुहुन्छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आउँदा दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

समितिले ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ । समस्या कम हुनुको साटो बरु बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनैरूपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ ।

यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उहाँले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “यो आफैँमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भन्नुभयो । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एअर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो ।

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एअरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

यस्तै १९९२ मा थाई एअरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एअरलाइन्सको विमान दुर्घटनामा पर्‍याे र र एक सय ५७ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९० मा लुफ्थान्सा एअरको विमान दुर्घटनामा पर्‍याे र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणका क्रममा टर्किस एअरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आउँदा दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुई वटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको ज्यान गएको थियो । यस्तै सन् २०१९ को फेब्रुअरीमा एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।

सन् २०१८ को सेप्टेम्बरमा गोरखाबाट काठमाण्डाै आउँदै गरेको अल्टिट्युड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको ज्यान गएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । 

यस्तै गएकाे जेठ १३ गते यतिकै भगिनी संस्था तारा एअरको ट्विनअटर जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गएको थियो । 

भर्खरैमात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैँमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने अहिलेसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन् । सन १९९१ जुन ९ मा नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

काठमाण्डाैबाट लुक्लाका लागि उडानमा रहेको त्याे विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको ज्यान गएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । त्यही आधारमा हेर्ने हो भने अहिलेसम्म नेपालमा १०८ औँ हवाई दुर्घटना हो । यति एअरलाइन्सको हकमा भने यो चौथो दुर्घटना हो ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया