विमान दुर्घटना : राति पनि बेपत्ताकाे खाेजी गरिने

 माघ १, २०७९ आइतबार २०:१०:४९ | रासस
unn.prixa.net

कास्की – पोखरामा आज बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताउनुभयो । ‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरू खोजी गर्नेछौँ’, प्रमुख केसीले भन्नुभयो । 

दुर्घटनामा परि ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । ‘अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमवार पनि खोजी कार्यलाई तीव्र पार्छौँ’, उहाँले भन्नुभयो । 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाण्डौबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा रहेका चार जना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरूको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । ‘सबै जनाको शव आज नै  निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो’, प्रजिअ केसीले भन्नुभयो । मृतकका परिवारलाई सोमवार शव बुझाउने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया