नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
बाग्लुङ - मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अर्गानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाएको छ ।
यहाँका थुप्रै ठाउँमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ । २०७२ सालदेखि मौरीपालन थाल्नुभएको म्याग्दीको बेनी नगरपालिका–४ मा रहेकाे सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बाग्लुङ–४ रमेटारलाई छान्नुभएको छ ।
उहाँले आफ्ना मौरीका घारहरू केही महिना म्याग्दी र केही महिना बाग्लुङ राख्दै आउनुभएको छ । रमेटारमा रहेकाे खेतको डिलमा उहाँका एक सय १५ मौरीका घार छन् । खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएको बताउनुभयो ।
बाग्लुङ–४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बाग्लुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलमा रहेकाे माउन्टेन मौरी कन्सर्नले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बाग्लुङ–४ कुडुँलेलाई लिएको छ ।
२०५१ सालदेखि मौरीपालन व्यवसायमा लाग्नुभएका माउन्टेन मौरी कन्सर्नका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताउनुभयो । कन्सर्नले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ । झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सर्नले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ । पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पुर्याउने योजनाअनुसार बाग्लुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
'माउन्टेन मौरी कन्सर्नमार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुरसहित विभिन्न जिल्लामा मौरीका घार चरनका लागि पुर्याइन्छ', उहाँले भन्नुभयो, 'चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरीसहितका घार पुर्याउँदा व्यावसायिक प्रवर्द्धन हुने, घारसहितका मौरी बिक्री गर्ने र मौरीपालन व्यवसाय फस्टाउने लक्ष्यका साथ पहिलोपटक बाग्लुङको कुडुँले फाँटमा ल्याएको छु, झण्डै सय घारमध्ये बिक्री भएर अहिले कुडुँले फाँटमा ७० मौरीसहितका घार छन्, यहाँका कृषकलाई मौरीपालन व्यवसाय सिकाउनका लागि समेत सहयोग पुर्याइने छ ।'
व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने गरेको पाइन्छ । यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसना मौरी चरनका लागि बाग्लुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा आउनुभएको छ ।
मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक ठाउँबाट अर्को ठाउँमा मौरीका घार स्थानान्तरण गरिँदै आएको पाइन्छ । मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाउँमा लैजाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन् । मौरीलाई यो सिजनमा डेढ महिना बाग्लुङसहितका पहाडी जिल्लामा पुर्याएको कन्सर्नका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बाग्लुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाण्डौका विभिन्न ठाउँमा पुर्याएको जानकारी दिनुभयो । 'वर्षमा दुईपटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पुर्याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ', उहाँले भन्नुभयो, 'मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरुक बनाउँछु, नेपालको पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।'
यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ । उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ ।
मौरीसहितका घार ढुवानी आफैँमा जोखिमपूर्ण भए पनि उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ । माउन्टेन मौरी कन्सर्नले मौरीसहितका घार बिक्रीबाट महभन्दा बढी फाइदा हुने बताउँदै प्रतिघारलाई १२ हजार रुपैयाँमा बिक्री गरिएको जानकारी दिनुभयो ।
ललितपुरबाट पहिलोपटक मौरी चरनका लागि बाग्लुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले २०७२ सालदेखि मौरीको चरन क्षेत्रका लागि यो ठाउँलाई रोज्दै आउनुभएको छ । खत्रीले गएकाे वर्षमात्रै १ सय १० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट १ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको बताउनुभयो । खत्रीले कृषि ज्ञान केन्द्र बाग्लुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताउनुभयो ।
यस्तै जैमिनी–७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार पाल्नुभएको छ भने ३० घार बाग्लुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।