सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सात कम्पनीसँग स्पष्टीकरण माग

 माघ १०, २०७९ मंगलबार १५:५४:४२ | रासस
unn.prixa.net

काठमाण्डौ – विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।

‘यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ, खरिद अनुगमन कार्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ । 

लिखित स्पष्टीकरण पेस नगरेमा वा चित्तबुझ्दो जवाफ नआएमा ती कम्पनीलाई कालोसूचीमा राखिने पनि कार्यालयले जनाएको छ । खरिद अनुगमन कार्यालयले सुशील कार्की मुख्य सञ्चालक रहेको सिरुवा कन्ट्रक्सन कम्पनी लिमिटेडलाई लिखित जवाफ पेस गर्न भनेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको काम अलपत्र पारेपछि यो कम्पनीलाई स्पष्टीकरण पेस गर्न भनिएको हो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्साको विजनेस नेपाल कन्सल्टेन्सी प्रालिलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । राजेशप्रसाद चौहान मुख्य सञ्चालक रहेको यो कम्पनीले मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पारेको जनाइएको छ ।

खैरहनी नगरपालिका नगरपालिकाको कार्यालय चितवनको काम अलपत्र पार्ने युनाइटेड एग्रो इञ्जिनियरिङ प्रालिलाई पनि कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न भनिएको छ । कम्पनीका सञ्चालक सुुरेश कुमार बुढाथोकी हुन् ।

सडक बोर्ड नेपालले सुकबहादुर गुरुङ सञ्चालक रहेको नवलपरासीको भोलेबाबा कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यो कम्पनीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले विज्ञान कुमार अर्याल मुख्य सञ्चालक रहेको काठमाडौँमा रहेको डाइग्नोकेम इन्टरनेसनललाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेकोमा खरिद अनुमगन कार्यालयले यो कम्पनीलाई पनि स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, बर्दियाको बारबर्दिया नगरपालिकाले कल्पना ज्ञवाली सञ्चालक रहेको कल्पना कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न लेखीपठाएको खरिद अनुगमन कार्यालय जनाएको छ ।

गोदावरी नगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिष कुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकोमा उक्त कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया