छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

 माघ ११, २०७९ बुधबार २०:३८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्न गठित समितिले बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ । 

एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले बुधवार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभन थ्री स्पोर्टस र क्यानबीचको सम्झौता खारेज गर्ने लगायतका निस्कर्ष निकाल्दै ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । 

लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता, सञ्चालन लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना नभएको र सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।

साथै प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी प्रतियोगिता आयोजना सम्बन्धमा भएको सम्झौता तत्काल खारेज गर्न पनि निर्देश गरेको छ ।

नेपाल टी २० लिगमा शंकास्पद एवम् अस्वाभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सिआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निस्कर्षको आधारमा दोषीमाथि प्रचलित कानून एवम् राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारबाहीमा अवश्यक सहयोग पुर्‍याउने निर्णय कार्यदलले गरेको छ भने आईसीसीसँग आवश्यक छलफल र समन्वय गर्न सकिने उल्लेख पनि गरेको छ ।

प्रतियोगिताका दौरान खेल मिलेमतो, स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

सिआइबीले सोमवार खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउण्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ र अनुसन्धानका लागि पाँच दिनको समयावधि पनि थपेको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया