भारतसँग २ वटा मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियाे नेपाली टाेली

 फागुन ७, २०७९ आइतबार १८:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेर आज आइतवार नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रूपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर टोली आज स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टाेलीकाे प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन् ।

कप्तान तुम्बाप्पाेले आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिए पनि उनीहरूविरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताइन् । उनले प्रिति राई बिरामी हुनाले अपेक्षाअनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन् । 

यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भए पनि राम्रो भएको र त्यही अभ्यासबाट घरेलु टोलीविरुद्ध सुखद नतिजा निकाल्न सफल भएको बताइन् । दुवै खेलमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको उनकाे भनाइ छ । पहिलो खेलमा पछि परेको अवस्थामा सम्हालिएको प्रदर्शन गर्न सकेको उनले बताइन् । 

बिरामी भएका कारण अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजीमा आफ्नो टोली भए पनि राम्रो खेलेको बताइन् । अर्की खेलाडी अमिषा कार्कीले मैत्रीपूर्ण खेल आफ्ना लागि राम्रो अनुभव बटुल्ने अवसर रहेकाे बताइन् । उनले आफ्नो स्वाभाविक खेल खेल्न नसकेको भन्दै आउँदा दिनमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

एसियन कप छनोटको तयारीमा रहेको नेपाली टाेलीले भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औँ स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमजोरी केलाउने मौका मिलेको बताए । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने उनकाे भनाइ छ । 

भारत भ्रमणको क्रममा नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । खेलअन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले दुई गोल गर्न सफल भएकी थिइन् । यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान तुम्बाप्पोको खेल उत्कृष्ट रहेको थियो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया