नेपाली खेलाडीको क्षमता अद्भुत छ : मोन्टी देशाई

 चैत २, २०७९ बिहीबार २०:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद नतिजा निकाल्न सफल भएको बताएका छन् । 

लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध डीएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले सुरुवात खराब भए पनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताएका हुन् । 

सुरुवात नराम्रो भए पनि यस अघिका खेलबाट बटुलेको अनुभवको आधारमा अगाडि खेल्दै जाँदा सुखद नतिजा निस्किने विश्वासका साथ खेलेको उनले बताए। यो बीचमा आरिफ र गुल्सनको साझेदारी नै महत्त्वपूर्ण रहेको उनकाे भनाइ छ । राम्रो रनको लक्ष्य भए पनि दोस्रो इनिङमा विकेट राम्रो भएको भन्दै पछ्याउन सक्ने विश्वास साथ खेल्न टिम रणनीति बनेको कप्तान रोहितले बताए । 

यस्तै प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए। यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए । खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईले बताए ।

नेपालले प्राप्त गरेको सफलता पछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए । उनले यस क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए । 

लिग–२ को अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्व कप छनोटमा स्थानमा बनाउन सफल भयो । नेपाल यूएईलाई हराएपछि शीर्ष तीनमा अटाउँदै विश्व कप छनोट खेल्न योग्य भएको हो । विश्व कप छनोट आउँदाे जुन र जुलाईमा जिम्बाब्वेमा हुनेछ । जिम्बाब्वेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् ।

विश्व कप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया