यसरी गर्न सकिन्छ, वैदेशिक रोजगारीमा हुने मानसिक तनाव व्यवस्थापन

 चैत १७, २०७९ शुक्रबार १३:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

प्रभातकुमार वर्मा/बारा ।

नेपालबाट रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढीरहेको छ । कोरोना महामारीपछि यो क्रम झन् बढ्दो छ । 

नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवा रोजगारको लागि श्रम बजारमा प्रवेश गर्छन् भने तीमध्ये प्रत्येक वर्ष सरदर ४ लाख युवा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीले नेपाली श्रम शक्तिलाई रोजगारी र आय आर्जन मात्र मिलेको छैन राज्यलाई ठूलो मात्रामा विप्रेषण पनि प्राप्त भइरहेको छ । तर धन कमाएर परिवार पाल्ने सपना बोकी परदेश गएकाहरु सबैलाई त्यहाँ सोचेजस्तो हुँदैन ।

कसैले भनेअनुसारको काम पाउँदैनन्, समयमा तलब पाउँदैनन् वा श्रम शोषणमा पर्छन् । यस्तै विदेशमा काम गरिरहँदा घरपरिवारमा कहिलेकाहीँ अप्रत्याशित घटना घटिदिन्छन् । परिवारकै सदस्यबीचमा मनमुटाव पनि हुन्छ । कतिपय अवस्थामा विश्वास टुट्न सक्छ । यस्तो अवस्थाले व्यक्तिलाई मानसिक रुपमा थकित बनाउँछ । जीवनदेखि नै हारेको महसुस भइदिन्छ । आत्महत्याको सोचसम्म दिमागमा आउन सक्छ ।

यस्तो अवस्थामा के गर्ने त ? यस्तो तनावबाट मुक्त हुने उपाय के हुन सक्छ ?

मानिसलाई पर्याप्त मात्रामा आराम र निन्द्रा चाहिन्छ । काम गरेर कम्पनीबाट फर्केपछि पर्याप्त मात्रामा ८ घण्टा जति सुत्नुपर्छ जसले दैनिक कार्यमा उर्जा थप्छ साथै ध्यान केन्द्रितमा सहयोग गर्छ । 

यस्तै शारीरिक व्यायम तथा योगाले मानसिक तनाव हुन दिँदैन । दैनिक रुपमा समय मिलाएर शारीरिक व्यायम तथा खेलकुद जस्तै फुटबल, ब्याडमिन्टन आदि र योगा ध्यान र प्राणायामहरु गर्नुपर्छ जसले तनाव कम गर्नुको साथै मनलाई शान्त बनाएर राख्छ । 

यस्तै, पर्याप्त मात्रामा पानी खानुपर्छ जसले तनाव कम गर्नुका साथै पानीको कमीले देखापर्ने समस्याहरु रक्तचापको कमी, मृगौलाको पत्थरी, मुटुको चालमा समस्या हुन पाउँदैन । 

समय मिलाई घर परिवार, साथीभाई र आफन्तसँग नियमित कुराकानी गर्दा पनि मानसिक तनाव कम हुन्छ । आफ्ना लागेका कुराहरु नजिकका आफन्त साथीहरुसँग भन्दा पनि मानसिक तनाव कम हुन्छ । आफ्नो ठाउँको समस्या तथा चुनौतीहरु साथीभाइ तथा परिवारसँग साझा गर्दा मन हलुका हुन्छ । उनीहरुबाट प्राप्त आश्वासनले चुनौतीहरु समाधान गर्न सहयोग मिल्छ ।

मानसिक तनाव कम गर्नको लागि आफ्नो रुचिको काम गर्ने तथा संगीत पनि सुन्न सकिन्छ । आफूले मन लागेको कार्य गर्नको लागि पनि केही समय छुट्टयाउनुपर्छ जसले व्यक्तिलाई आन्तरिक रुपले आनन्द र खुसी महसुस होस् ।

सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक, युट्युबको अत्याधिक प्रयोग गर्ने बानी पनि मानसिक स्वास्थ्यको लागि त्यति राम्रो मानिदैन । तर यसलाई नियन्त्रण गरेर आवश्यक मात्रामा मात्र चलाउँदा यसले पनि  मन हलुका बनाउँछ । सुत्नुभन्दा अघि वा फुर्सदको समयमा घरपरिवार आफन्तसँग सम्पर्क बनाउनुपर्यो वा आफ्नो विचार साझा गर्नुपर्यो भने केहि समयको लागि चलाउन सामाजिक सञ्जाल उपयुक्त हुन्छ । तर यसैमा नशा बस्दा मानसिक अवस्थाको लागि घातक भइदिनसक्छ ।

यस्तै हामीले खानपानमा ध्यान दिँदा पनि कतिपय मानसिक तनाव हुन पाउँदैन । तनाव भएको भए कम भएर जान्छ । आफ्नो शरीरलाई स्वस्थकर र चाहिने मात्रामा सन्तुलित रुपमा खाना खानु पनि तनाव कम गर्ने उपाय हो । खानाको प्रयोगले पनि थकाई लाग्ने मानसिक थकाई हुने भएकोले ताजा तरकारी, सलाद, फलफुल, पर्याप्त भिटामिनहरु पाइने खाना, माछा, मासु, अण्डा तथा फलफुल आदिको बढी सेवन गर्नुपर्छ । गर्मी ठाउँमा काम गर्दा पसिना बढी बग्ने भएकोले खानामा शरीरलाई चाहिने जति नुनको प्रयोग गर्नुपर्छ । 

आम्दानी अनुसारको खर्चको व्यवस्थापन अर्थात् वित्तीय व्यवस्थापन गर्नु पनि समझदारीको उपाय हो । वैदेशिक रोजगारीमा जानु र कमाएको पैसाको सही रुपमा आफ्ना जिम्मेवारी ऋण, घर खर्च, छोराछोरीको पढाइ, उपचारमा खर्च गर्नुपर्छ । यस्तो अवस्थामा आफूले वचत गरेको भए सहज हुन्छ । कहिलेकाहीँ आर्थिक अभावका कारण पनि मानसिक रुपमा तनाव हुन्छ । त्यसैले कमाएको थोरै भाग भए पनि वचत गर्नुपर्ने हुन्छ ।

यस्तै, सामाजिक सहभागिता पनि तनाव कम गर्ने एक उपाय हो । वैदेशिक रोजगारीका क्रममा आफू कार्यरत देशमा रहेका नेपालीहरुका समाज, संस्था, साथीभाइका समूहसँग आबद्ध हुनसकिन्छ । आफू काम गर्ने कम्पनी नजिकै सँगै बस्ने साथीहरु, आफ्नो देश, गाउँ ठाउँका साथीभाइहरुसँग छुट्टीको समयमा भेटघाट गर्न सकिन्छ । साथीहरुसँग मिलेर सामाजिक क्रियाकलापमा भाग लिन सकिन्छ । यसरी सबैसँगग बस्ने, खाने र समय व्यतित गर्ने गर्दा मानसिक रुपमा तनावहरु कम हुने गर्छन् ।

(प्रभातकुमार वर्मा कलैया उपमहानगरपालिकाद्वारा सञ्चालित आप्रवासी स्राेत केन्द्रका सूचना अधिकृत हुनुहुन्छ ।)

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया