ओमनमा आशिका : छोराछोरी र श्रीमान सम्झँदै, रुँदै अनि काममा घोटिंदै

 कात्तिक १, २०७५ बिहिबार ६:२३:४४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडौं  – नाम – आशिका परियार, सनिलकी आमा । घर – धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ । 

माइतमा छोरी, अनि श्रीमान्को साथमा काखे छोरो छाडेर विदेश पुग्दा पीडाले भतभती पोल्यो । तर गरिबीले पोल्टोमा पारिदिएको नियतिले मातृत्वलाई पनि निष्ठुरी नै बनाइदियो । सात समुद्रपारि पुगेर टन्न कमाइएला भन्ने सपना निराशामा बदलिए । 

ओमानको अमिलो अनुभव

‘यहाँ छँदा अभावमा बस्नुभन्दा विदेश गएर कहिले कमाउनु भन्ने भयो,’ विदेश गएर कमाउने सपनाको बिजारोपण भएको क्षण सम्झनुहुन्छ, आशिका । 
विदेशको बारेमा धेरै कुरा थाहा थिएन । तर विदेशमा कमाएर पूरा गर्न साँचेका सपना निकै थिए आशिकासँग । 

कमाएर छोराछोरी पढाउनु थियो । छाप्रोको बासलाई अलिक राम्रो ठाउँमा सार्नु थियो । अनि अलिअलि विदेश घुम्ने रहर पनि । आफन्तले नै ओमान जाने बन्दोबस्त मिलाइदिए । भारतको बाटो हुँदै २०७२ सालको चैतमा उहाँ ओमान पुग्नुभयो । 

आशिकाको कमाउने ठूलो रहर । काम ठूलै घरमा मिल्यो । 

‘घरमा सबैखाले काम गर्नुपथ्र्यो, मलाई त कामको भन्दा पनि दामकै मतलब हो, जसो भन्यो उसै गरें नि,’ आशिकाले छोटकरीमा आफ्नो कामको व्याख्या गर्नुभयो । 
सबैखाले कामले उहाँलाई धेरैपटक रुवायो । रुँदै गरेको कामले दुःखको स्वाद मज्जैले चखायो । 

सुरुमा साहुनीले बोलेको केही पनि बुझिंदैन थियो, भाषाका कारण । घरको काम इशाराको भरमा गर्नुहुन्थ्यो, आशिका । ‘भाषा नआउने, उनीहरुले जे भने पनि आफूलाई नै गाली गरेझैं लाग्थ्यो नि, कति त गाली पनि खाइयो, कहिलै नगरेको काम, कति बिग्रन्थ्यो,’ आशिकाले भाषा नजान्दा काममा परेको अप्ठ्यारो सुनाउनुभयो । पछि विस्तारै भाषा बुझ्न थाल्नुभयो ।

न घरमा भनेको बेला फोन गर्न पाइने, न त काम गर्ने ठाउँबाट निस्कन नै । ‘साहु साहुनीले कतै जान दिँदैन थिए, बिहान उठेदेखि नसुत्दासम्म काम नै गर्ने हो,’ पट्यारलाग्दो घरको काम दिक्क मान्दै सुनाउनुभयो आशिकाले ।

कमाउन हिँडेको ज्यानलाई बहकिने छुट त थिएन । तर आशिकालाई घरमा छोडेको छोराछोरी र श्रीमानको यादले गलाउँथ्यो । 

‘घरमा हुँदा सधैंको अभाव, कहिले यो सबै दुःख छाडेर हिँडौं जस्तो हुन्थ्यो । तर उता गएपछि पो थाहा भयो नि दुःख के हो भनेर, छोराछोरी र बुढो सम्झेर कति रुन्थें’ आशिकाले भावुक हुँदै विदेशको दुःख सुनाउनुभयो । 

६ वर्षको छोरो श्रीमानको साथमा छाडेर हिँडेकी आशिका साहु साहुनीका छोराछोरी देख्दा आफ्नै छोरो सम्झनुहुन्थ्यो । फेरि मावलीको छत्रछायामा पढिरहेकी १२ वर्षीया छोरी र तिनै छोराको भविष्य सम्झनुहुन्थ्यो र आफूलाई सम्हाल्नुहुन्थ्यो । 

‘जे देखे पनि घरकै याद आउने, अरुका सन्तान स्यार्हानुभन्दा त छोराछोरीकै साथमा एक छाक खान बेश लाग्थ्यो त्योबेला चाहिँ,’ आशिका भन्नुहुन्छ । विदेशमा कमाउने रहरले निम्त्याउने कहर आशिकाले त्यतिबेला मात्रै बुझ्नुभयो । 

परिवारको यादले सताएको बेला मन शान्त पार्ने अर्को विकल्प थिएन । काम गर्ने घरमा फोन चलाउन पाईंदैन थियो । साहु साहुनीलाई सुर चलेका बेला घरमा फोन गर्न आफ्नै मोवाइल दिन्थे । त्यो पनि दिन महिना र हप्ता गनेर । मनको बह पोख्न पनि कहाँ पाइन्थ्यो र । साहुले मिनेट गनेर बस्थे । 

के हप्ता । के महिना । के वर्ष । आशिकालाई बिहान घाम उदाएको उज्यालो र अस्ताउँदाको अँध्यारो बाहेक केही थाहा हुँदैनथियो । 

महिना मर्दा साहुले पैसा दिन्थे । ८० ओमानी रियाल अथवा झण्डै २४ हजार रुपैयाँ पाउनुहुन्थ्यो आशिकाले तलब । घरमा पैसा पनि साहुले नै पठाइदिन्थे । कुनै बहानामा घरबाट बाहिर निस्कने अनुमति थिएन । 

साहुको बन्धनमा बस्दा आशिकालाई लाग्थ्यो ‘श्रीमान् मेडिकल फिट भएको भए, विदेशमै भए पनि श्रीमानकै साथमा हुन्थें ।’

श्रीमान् श्रीमती दुवै एउटै देशमा, एउटै कम्पनीमा काम गर्ने योजना बनाएका पनि थिए । तर श्रीमानको मेडिकल रिपोर्ट ‘अनफिट’ आएपछि तय भएको थियो आशिकाको ओमान यात्रा । 

आशिकाका श्रीमान् घरमा हुँदा छोरा सनिलले बाबुको सहारा पाएका थिए । मावलीमा भएकी छोरीले पनि बेलाबेलामा बुवासँग भेट्न पाएकी थिइन् । 
गरिबीले चारजनाको परिवारलाई तीनतिर उछिट्याएको थियो । छुट्टिएको परिवारलाई जोड्न पनि आशिकलाई पैसा कमाउनु थियो ।

साहुनीले किनिदिएको उपहार, छोरालाई गुड्ने ब्याग

झण्डै दुई वर्ष बिताउनुभयो आशिकाले ओमानमा । दुःख भोग्नुभयो । तर फर्किंदा जानेबेला सोचेजस्तो सुख लिएर फर्किन सक्नुभएन । 

‘साहुनीको छोरा थिएनन्, मेरो छोराका बारेमा उसँग कुरा गरिरहन्थें, म आउने बेला छोरालाई के लान्छेस् भनेर सोधिन् अनि मैले तिम्रो छोरीको जस्तै ब्याग भनें, साहुनीले नै किनिदिइन् छोरालाई गुड्ने ब्याग’ सनिलले बोक्ने गुड्ने ब्यागको राज खुलाउनुभयो आशिकाले । 

साहुनीले ब्याग किनिदिइन । आशिका आफैंले एउटा टिभी किन्नुभयो । साँचेका सपना पूरा नभए पनि फर्किन पाउने खुसीले नै आशिकाको मन फुरुंग भएको भयो । २०७४ फागुनमा आशिका धन नभए पनि खुसी मन लिएर घर फर्किनुभयो । 

आशिका फर्किएपछि आमाको अभावमा खिन्न भएका छोरा सनिल दंग छन् । वर्ष दिनपछि आमा फर्किंदाको खुशीमा मलजल गरेको छ, गुड्ने ब्यागले पनि । 
‘म आएपछि त उ पुरै नक्कले भएको छ, गाजल लगाउँछ, लिपिस्टिक लगाउँछ, खुबै फुर्किन्छ, झन् गुडाउने ब्याग पाएपछि त के कुरा गर्नु, बेलाबेलामा साथीलाई पनि गुडाउँछ रे ब्यागमा राखेर,’ हाँस्दै आशिकाले सुनाउनुभयो । 

विदेशबाट फर्किएपछि आशिकाको मन यस्तै स–साना खुशीहरुमा अल्झिएको छ । दुई वर्ष परिवारसँग टाढा भएर बिताउँदाको पीडामा छोराको खुशीले नै मल्हम लगाएको छ । 

फेरि विदेश जाने योजना

मन खुशी छ, तर साथमा धन छैन । आशिकाको अझै पनि विदेश गएर धन कमाउने मन मरेको छैन ।

‘घर फर्किएँ, धन नभए पनि मन त खुशी छ, तर राम्रो काम पाएँ भने यूएईतिर जाने योजनामा छु,’ आशिकाले फेरि विदेश जाने आफ्नो योजना सुनाउनुभयो । तर पहिले जस्तो घरको काममा हैन, यो पालि उहाँले कम्पनीमा नै काममा जाने योजना बनाउनुभएको छ । 

भोलि कसले देखेको छ र ? तर आजको कुरा गर्ने हो भने आशिकाको उमेर छ, विदेश गएर पनि राम्रो कमाउन सकिन्छ भन्ने लाग्छ । २८ वर्षमा हिँड्दै गरेकी आशिकालाई अझै पनि केही वर्ष विदेशमै पाखुरा बजार्न सकिन्छ भन्ने लाग्छ ।

ओमानमा दुई वर्ष भोगेको दुःखले पनि आशिकाको विदेश गएर कमाउने मन त फेरिएको छैन । तर देश र काम फेरिने पक्का जस्तै भएको छ । आशिकालाई विश्वास छ, अबको विदेश यात्राले आफ्नो जिन्दगी पनि फेरिने छ ।

‘छोरो, आमा र बाको कथा’मा भोलि हामी सनिलका बा हरि परियारले आशिका विदेश जाँदा छोरालाई कसरी हुर्काए र घरभित्र र बाहिरको काम गरे भन्ने कथा प्रस्तुत गर्छौं ।

याे पनि पढ्नुहाेस् 

गुडाउने ब्यागभरि आमाले ओमानबाट ल्याएको खुसी

अन्तिम अपडेट: कात्तिक १४, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया