दुनाटपरी उद्योगले स्वरोजगार बन्दै रामजानकी टोलका महिला

 कात्तिक १, २०७५ बिहिबार ७:६:२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर–५, रामजानकी टोलकी ज्ञानु अधिकारी बिहान उज्यालो हुनेबित्तिकै जंगलतिर लाग्नुहुन्छ । उहाँ दैनिक पात टिपेर १० बजेतिर घर फर्कनहुन्छ ।

त्यसपछि खाना खाएर घरको चुल्होचुकौको काम गरेर उहाँ १२ बजे दुनाटपरी उद्योगमा काम गर्न पुग्नुहुन्छ । दिनभरी काम गरेपछि चार बजे घर फर्कनुहुन्छ र घरधन्दामा व्यस्त हुनुहुन्छ । 

केही वर्षअघि चुल्होचौकोमै सीमित हुने उहाँको दैनिकी यसै गरी बित्छ । करिब २७ वर्ष भारतमा परिवारसहित बस्नु भएकी उहाँले आफ्नै ठाउँमा आएर अहिले दैनिकी चलाउन सजिलो भएको छ । 

‘पहिला घरकै काममा व्यस्त होइन्थ्यो ।  दुई चार पैसा कमाएपछि अरु कसैसँग हात थाप्नु पर्ने रहेनछ’ उहाँले भन्नुभयो, ‘अहिले पाँच हजार देखि सात हजारसम्म आम्दानी हुन्छ । बन जाने, पात टिपेर ल्याउने । मेशिनबाटै टपरी बनाउने काम हुन्छ । काम सजिलो छ ।’ 

ज्ञानु जस्तै त्यसै टोलकी मुना नेपालीको पनि दिन त्यसैगरी बित्छ । घरको काम समेत भ्याएर घरनजिकै आयआर्जन भइरहेकै छ ।

‘आफुले नकमाउँदासम्म चियासमेत पनि मन लागेको बेला खान पाइँदैन्थ्यो’ उहाँले भन्नुभयो, ‘न कसैको भनाई खानुपर्ने न कसैसँग दुईचार पैसा हात थाप्नुपर्ने । बचत समेत गर्न पुग्छ ।’ 

रामजानकी टोलकै नन्दा गुरुङले पनि दुनाटपरी उद्योगबाट टोलका महिलाहरुलाई धेरै राहत भएको बताउनुभयो । 

‘एक जनाको कमाईले घरधन्दा चलाउन हम्मेहम्मे हुन्थ्यो । तर अहिले आफूले पनि दुईचार पैसा कमाउन थालेपछि घर खर्च चलाउन सजिलो भएको छ’ उहाँले भन्नुभयो, ‘घरमा सानोनितो खर्च गर्दा पनि अरुसँग हात थाप्नुपर्दैन । दुनाटपरी उद्योगमा काम गर्न थालेपछि बचत पनि गर्ने गरेका छौँ ।’

दुनाटपरी उद्योगकी अध्यक्षसमेत रहनु भएकी गुरुङले उद्योगको व्यवस्थापनमासमेत समय दिन भ्याउनुहुन्छ । उहाँले अब टोलका अन्य महिलाहरुलाई पनि दुनाटपरी उद्योगमा रोजगारी दिने योजना रहेको बताउनुभयो । 

दुनाटपरी उद्योगमा आवश्यक दुइवटा मेशिन महिलाहरुले ऋण गरेर व्यवस्था गरेका हुन् । दुइवटा मेशिन एक गैरसरकारी संस्थाले दिएको थियो । मेसिनको व्यवस्था गरेर टोलका अन्य महिलाहरुलाई पनि उद्योगमा ल्याउने उहाँले बताउनुभयो । 

‘टोलमा अझै पनि धेरै दिदीबहिनी बेरोजगार भएर बस्नु भएको छ । अन्य मेशिनहरु थपेर उहाँहरुलाई पनि समट्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो, । 
तीन वर्षअघि स्थापना भएको दुनाटपरी उद्योगमा १३ जना महिलाहरुले करिब १०-१० हजार रुपैयाँ लगानी गरेका थिए । उनीहरु उद्योगको भवन निर्माण गर्दा आफँै काममा जुटेका थिए । अहिले दुनाटपरी उद्योग उनीहरुको लागि गतिलो आम्दानीको स्रोत बनेको छ ।

उनीहरुले रामजानकी सामुदायिक वनसँग पात टिप्नका लागि १० वर्षको सम्झौता गरेका छन् । चैत वैशाखको समयमा झरेका पातहरु पनि खेर नगई उनी महिलाहरुको आयस्रोतको  माध्यम बनेको छ । 

अहिले उनीहरुले उत्पादन गरेको दुनाटपरी म्याग्दी, नेपालगञ्ज, कोहलपुर, कालिकोट जुम्लासम्म पुग्छ । गुरुङले दुनाटपरी अर्डर अनुसार वीरेन्द्रनगरमा आफूहरु पनि बिक्रीका लागि जाने गरेको बताउनुभयो । 

अहिले उनीहरुलाई काम गर्न भ्यानभ्याई छ । दुनाटपरीको माग बढेकाले पुर्‍याउन गाह्रो भएको छ ।  दुनाटपरीको माग बढ्दै गएपछि अहिले उनीहरुले काम गर्ने कार्यतालिका समेत बनाएर काममा जुटेका छन् । चार वटा मेशिन छन् । १३ जनाले एकै पटक काम गर्न मेशिनको अभाव छ । 

उद्यमी हरिकला रम्तेलले मेशिन नपुग्दा समूह विभाजन गरेर काम गर्ने गरेको बताउनुभयो । ‘पहिला हाम्रो केही व्यवसाय थिएन ।  लेबर काम गरेर खानुपर्थ्याे । लेबर काम गर्न सकिँदैथ्यो । अहिले दुनाटपरीबाटै महिनाको ६ देखि ९ हजारसम्म हुन्छ’ उहाँले भन्नुभयो, ‘अहिले मैले घरका कुखुरापालन पनि गरेको छु । यहाँ हामीले आर्यआर्जनसँगै अन्य ज्ञानका कुरा पनि सिक्न पाएका छौँ । हामी सन्तुष्ट छौँ ।’ 

उहाँले सरकारले उद्यमीहरुलाई सहजताका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिदिनुपर्ने बताउनुभयो । 


 

अन्तिम अपडेट: कात्तिक १५, २०७५

मुना हमाल

सुर्खेतका उज्यालो सहकर्मी मुना हमाललाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया