ताप्लेजुङसँग लोभिए विदेशी पर्यटक

 कात्तिक ३, २०७५ शनिबार १९:२३:४३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – सिजन सुरु हुनुभन्दा अघिदेखि नै हिमाली जिल्ला ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यस वर्ष पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । विगतको समयमा वर्षभरिमा आउने पर्यटक यसवर्ष एकै सिजनमा ताप्लेजुङ घुम्न आउने अनुमान गरिएको छ ।

ताप्लेजुङमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर भन्दा अग्ला २ हिमाल र ७ हजार मिटर माथिका ११ हिमालहरु रहेका छन् ।

युरोप, अमेरीकालगायत चीन–भारत गरी विभिन्न २३ राष्ट्रका पर्यटक यहाँ घुम्न आउने गरेका छन् । ताप्लेजुङ जिल्लामा हालसम्म सबैभन्दा बढी एक सिजनमा ९ सय पर्यटकले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्थानीयले अक्टोबर र अप्रिललाई पर्यटक आउने सिजनका रूपमा लिने गरेका छन् । असार, साउन, माघ र फागुनमा भने विदेशीको अनुहारसमेत देख्न नपाइने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पर्यटन सहायक टासी तेञ्जिङ शेर्पा बताउनुहुन्छ ।  

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको तथ्यांक अनुसार, आ.व.२०७३/०७४ मा ६ सय ७ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए भने आ.व.२०७४÷०७५ मा ६ सय १२ जना भ्रमणका लागि पुगेका थिए ।  

मेचीको पहाडी जिल्ला ताप्लेजुङ पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर, विमानस्थल भएर पनि जहाज नचल्दा पर्यटकलाई तान्न नसकिएको गुनासो व्यवसायीहरुले गरेका छन् ।  

केही समयपछि फर्कन्छन् पर्यटक

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासँगै कुम्भकर्णलगायतका हिमश्रृंखलाको अवलोकन गरेपछि कार्तिकको अन्तिममा हिउँ पर्न सुरु भएसँगै पर्यटकहरु फर्कन थाल्छन् ।  

चिसो मौसम सुरु भएसँगै हिउँ पर्ने भएकाले अधिकांशले हिमाली क्षेत्रका बेसक्याम्प छाड्छन् । हिउँ पर्न  सुरु हुनासाथ कञ्चनजंघा हिमाल आधार शिविरभन्दा तल रहेको बस्ती घुन्साबाट सबै समूह सदरमुकाम फुङलिङतर्फ फर्किने गरेको घुन्साका स्थानीय बताउछन् ।  

हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू सबै चिसो बढे पछि आ–आफ्ना देश फर्कने गर्छन् । घुन्साका पर्यटन व्यवसायी हिमाली चुङ्दा शेर्पाका अनुसार यो वर्ष छिटै हिउँ पर्ने संकेत देखिएको बताउनुभयो ।

असार, साउनमा वर्षा हुने र पुष, माघ, फागुनमा हिउँ भर्ने हुँदा यो समयमा पर्यटक कम मात्रै आउने गरेको शेर्पा बताउनुहुन्छ । सिजन सुरु भएपछि चौरी, याकलाई सामान बोकाएर स्थानीय पनि व्यापारका लागि हिमालको फेदीतर्फ चड्ने गर्दछन भने पर्यटक पनि सो क्षेत्र घुम्न आउने गर्दछन् ।

पर्यटकीय सिजनमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङदेखि केही किलोमिटरमाथि रहेको सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर माथिका अरू दुईसहित ७ हजार मिटर माथिका ११ हिमशृंखला अवलोकन गर्न पाइन्छ ।

अन्तिम अपडेट: कात्तिक २३, २०७५

केशवप्रसाद भट्टराई

ताप्लेजुङका उज्यालो सहकर्मी केशवप्रसाद भट्टरार्इ फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया