रामवीरले राजीनामा दिन नपर्ने, उपनिर्वाचनको बहस सकियाे

 कात्तिक ५, २०७५ सोमबार ६:३२:२५ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै अहिलेलाई उपनिर्वाचनको बहस अन्त्य भएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सो पार्टीका सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू उहाँका लागि राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमति पाउन पार्टी नेतृत्वलाई पत्र दिनुभएको थियो । मानन्धरले दिनुभएको पत्रबारे आजको बैठकले हाल राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेको छ । पार्टीको यो निर्णयसँगै नेता गौतमलाई सांसद बनाउने पहल र चर्चा अहिलेका लागि अन्त्य भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आइतबारको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मानन्धरले संसद् सदस्यबाट राजीनामा दिने अनुमतिपत्र दिएको विषयमा हाल कुनै निर्णय गर्नु नपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

गएकाे असोज २२ को सचिवालय बैठकमा मानन्धरको पत्रबारे अनौपचारिक छलफल भएको थियो । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत पूर्वपरामर्श नगरी मानन्धरले एकाएक राजीनामा लागि अनुमति मागेपछि शीर्ष नेताबीच आपसी शङ्का पैदा भएपछि मध्यमार्गी नेताहरुले अनौपचारिक संवाद गरी यो निर्णयमा पार्टी पुगेको हो । मानन्धरले राजीनामा दिने विषयले पार्टीभित्र र बाहिर व्यापक टीकाटिप्पणी हुनाका साथै निर्वाचित भएको एक वर्षमै सांसदलाई राजीनामा गराई बाहिरको नेतालाई उपनिर्वाचनको उम्मेदवार बनाएमा पार्टी पराजित हुन सक्ने खतरा आैँल्याइएको थियो ।

यस्तो प्रवृत्तिले निर्वाचनका लागि राज्यको अतिरिक्त खर्च हुने बहससमेत उत्पन्न भएको थियो । पार्टी नेतृत्वले पार्टीका उम्मेदवारले हार्ने गरी उपनिर्वाचन नगर्ने जनाएसँगै नेता गौतमले मानन्धरले आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै आफू उपनिर्वाचन लड्न अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिनुभएको थियो ।

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिकरूपमा व्यक्त गरेको असन्तुष्टि, उपनिर्वाचन, मन्त्रीहरूको कार्यक्षमता लगायतका विषयमा विवाद साम्य नहुँदा सचिवालय बैठक पटकपटक सर्दै आएको थियो । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूची छ ।

गएकाे जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना व्यतित भइसकेको छ ।

प्रवक्ता श्रेष्ठले पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्ने बारेमा खुला र गम्भीर छलफल भएको बताउनुभयो । उहाँका अनुसार सचिवालय बैठक सोमबार दिउँसो पुनःबस्नेछ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया