काठमाण्डौमा सडकको बेहाल, दुर्घटना रोक्न खाल्डोमा बुख्याचा !

 बैशाख २२, २०८० शुक्रबार १३:४३:४९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

खेतबारीमा चराचुरुङ्गी र बाँदरबाट बाली जोगाउन बुख्याचा राख्नु त सामान्य नै हो । तर, मुख्य सडकमै बुख्याचाको झल्को दिने आकृतिलाई भने सामान्य मान्न नसकिएला । ललितपुरको लगनखेल–ग्वार्को सडकमा ग्वार्को नपुग्दै अलि वर लुखुसीमा बुख्याचाको झल्को दिने यस्तै आकृति देख्न सकिन्छ । लुखुसीको मुख्य सडकमा ठूलो भ्वाङ परेको छ र यो भ्वाङ परेको झण्डै एक महिना भयो । त्यो भ्वाङमा मोटरसाइकल, गाडी नफसोस भनेर बीचमा एउटा बाँस गाडिएको छ । बाँसमा बोरा हालेर बानिएको छ । टाढाबाट हेर्दा यो बारीमा बाली जोगाउन राखिएको बुख्याचा जस्तै मोटरसाइकल र गाडी चालकको ज्यान जोगाउन राखिएको बुख्याचा जस्तै छ यो ।

बुख्याचा जस्तै आकृति राखिएको लुखुसीको सडक अघिल्तिर जाउलाखेल निवासी सुरज लिम्बुको फेन्सी पसल छ । सडकमा रहेको खाल्डोमा परेर धेरै मान्छे घाइते भएपछि लिम्बुले नै बाँस खोजेर अनि बोरा बानेर यहाँ मान्छे नलडुन भनेर बुख्याचा जस्तै बनाएर राख्नु भएको हो ।

उहाँ भन्नुहुन्छ, ‘तीन दिन अगाडि मंगलवार मात्र यहाँ स्कुटरमा एक जना महिला र नानी लडेर घाइते हुनुभयो । पहिले अलि सानो खाल्डो थियो । दिनदिनै झन झन ठूलो हुँदै गएको छ । अरु मानिस नलडुन भनेर हामीले बाँसमा बोरा बानेर ठड्याएका हौँ ।’

ललितपुर महानगरपालिकाको कार्यालय भन्दा झण्डै दुई किलोमिटरको दूरीमा रहेको यो सडकमा साइकल र मोटरसाइकल लडेर मानिस घाइते हुँदा महानगर तथा सम्बन्धित कसैको पनि ध्यान भने पुग्न सकेको छैन । सडकको बीचमै भ्वाङ परेको हुँदा बाटो जाम समेत हुने गरेको छ ।

लिम्बुले गएको मंगलवारदेखि दुई/तीन दिनमा दुई/तीन वटा दुर्घटना देखिसक्नु भएको छ । यति हुँदा पनि कसैको ध्यान नपुगेकोमा भने उहाँ आक्रोशित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अस्तिसम्म यो सानो सानो थियो । अहिले दिनदिनै ठूलो ठूलो हुँदैछ । कुन दिन यहाँ ठूलो दुर्घटना हुन्छ अनि मात्र बन्ने होला । हामीले बनाउन भनिरहेका छौँ तर कसैले सुनेको छैन ।’

सडकको यस्तै अवस्था काठमाण्डौ उपत्यकाका अरु ठाउँमा पनि छन् । ज्ञानेश्वर चोकदेखि डिल्लीबजार पिपलबोटसम्मको सडकका ठाउँठाउँमा खाल्डाखुल्डी छन् । मिडभ्याली कलेज, ग्यालेक्सी स्कुल तथा सफ्टवेरिका जस्ता नाम चलेका स्कुल पढ्ने विद्यार्थी तथा ज्ञानेश्वर अनि डिल्लीबजारका स्थानीयको मात्र नभइ भित्री बाटो प्रयोग गरी सहर आवतजावत गर्ने यात्रीले पनि धेरै नै हैरानी खेप्नुपर्छ यो सडकमा ।

मिडभ्याली कलेजमा सुरक्षा तथा यातायात व्यवस्था सम्हाल्ने कर्मचारी लाक्पाकाजी शेर्पाका अनुसार यो सडक नबनेको झण्डै दुई/तीन वर्षभन्दा बढी भइसक्यो । ज्ञानेश्वर चोकदेखि डिल्लीबजार पिपलबोटसम्मको करिब ५ सय मिटर लामो यो सडकमा झण्डै २०/२५ वटा खाल्डा छन् । एक महिना अगाडि विद्युत् प्राधिकरणले तर भूमिगत गर्दा बनाएको खाल्डो टाले पनि खानेपानीले बनाएको खाल्डो भने टालेको छैन । सडक जीर्ण भएका कारण पनि धेरै खाल्डा परेका छन् । तर, सडक टाल्ने जाँगर भने कसैले देखाएको छैन ।

शेर्पा भन्नुहुन्छ, ‘यहाँ पानी पर्दा बच्चाहरुमात्र नभएर लिन आउने अभिभावकलाई पनि निकै गाह्रो हुन्छ । खोइ यो बनाउने कस्ले हो । नेपाल सरकारले यो सानो सडक के बनाउला र । वडाले बनाउने होला कि । खोइ वडाले पनि वास्ता गर्दैन ।’

यस्तै जीर्ण सडकका कारण सास्ती भोगिरहनु भएको छ रामेछाप खाँडादेवीका ट्याक्सी चालक राजकुमार बोहोराले । १५ वर्षदेखि काठमाण्डौ उपत्यकामा ट्याक्सी चलाउँदै आउनु भएका बोहोरा सडकका खाल्डाखुल्डी कारण ग्राहकलाई भनेको समयमा पुर्याउन नसकिने तथा दुर्घटनासमेत हुने गरेको बताउनुहुन्छ ।

अहिले विशेष गरी काठमाण्डौको जोरपाटी, नारायणटार, दक्षिणढोका, नयाँ बसपार्क , मध्य बानेश्वर, कलंकी, ललितपुरको भैँसेपाटी, महालक्ष्मीस्थान, पाटन, भक्तपुरको थिमी, सूर्यविनायकलगायत मुख्य बजारका सडकमा खाल्डाखुल्डी छन् ।

बोहोरा भन्नुहुन्छ, ‘पहिले सडकका खाल्डा पुरे पो हुन्थ्यो । सद्दे सडकमा पनि खनेर ढल हालेको छ । पानीको पाइप हालेको छ । अनि सडक नपुरी त्यसै छोडेको छ । सडक बनाउन यति गाह्रो छ भने बिगारी सकेपछि कमसेकम टालेर त छोड्नुपर्छ नि । त्यति पनि गर्दैनन् ।’

तर, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका कार्यालय प्रमुख तथा इन्जिनियर अर्जुन अर्याल भने सडकमा केही खाल्डाखुल्डी भए पनि त्यो सडक विभागका कारण नभएर अन्य निकायका कारण भएको बताउनुहुन्छ ।

कार्यालयले काठमाण्डौ उपत्यकाको सडकको नियमित अनुगमन तथा मर्मत सम्भार गर्ने काम गर्छ । तर, पनि अपेक्षा अनुसारको काम भने हुन नसकेको स्वीकार गर्नुहुन्छ अर्याल ।सडकमा काम गर्ने विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी जस्ता सेवा प्रदायक संस्थाहरुको एक आपसमा समन्वय नहुँदा पनि सडकको बेहाल हुने गरेको छ ।

काठमाण्डौमा हजारौँ किलोमिटर सडक भए पनि सडक विभागले हेर्ने भनेको केवल ८ सय किलोमिटर सडक मात्रै भएकोले सडक बिग्रेको देख्ने बित्तिकै सडक विभागलाई गाली नगर्न अर्यालको अनुरोध छ । उहाँ भन्नुहुन्छ, ‘सडक विभाग अन्तर्गतको सडक हामीले जहाँ सुकै एक महिनामा टालेका छौँ । तर, सडक भन्ने बित्तिकै सडक विभागले मात्र हेर्ने नभएका कारण अन्य निकायका मातहतमा रहेका सडक खाल्डाखुल्डी परेको तथा बिग्रिएको हुनसक्छ ।’

अहिले विद्युत् प्राधिकरणको भूमिगत लाइन, मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार तथा मर्मत साथै काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका पानीका पाइपहरु चुहिएका कारण बाटो बिग्रिएको पनि सडक विभागको दाबी छ ।

अर्यालका अनुसार यस आर्थिक वर्षमा काठमाण्डौमा मात्रै सडक विभागले ३७ हजार वर्ग मिटर सडकका खाल्डाखुल्डी पुरेको छ । त्यस्तै भक्तपुरमा १२ हजार वर्ग मिटर तथा ललितपुरमा १७ हजार वर्ग मिटर सडकका खाल्डाखुल्डी सडक विभागले पुर्ने काम गरेको छ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले पनि अन्य निकायका कारण नहुने हो भने एक महिना भित्र जस्तो सुकै खाल्डो पनि पुर्छौँ । र, हामीसँग त्यसका लागि साधन स्रोत तथा मानवीय जनशक्ति पनि छ ।’

झण्डै एक महिना अगाडि सडकसँग सम्बन्धित ९ वटा निकायका १० जना पदाधिकारी सम्मिलित समन्वय समिति गठन भएको छ । यो समिति नहुँदा सडक कस्ले खनेको भन्ने पत्ता लगाउन पनि कठिन भइरहेको थियो । अब भने समिति गठन भइसकेपछि समन्वय गर्न पनि सजिलो हुने र कस्ले सडक खनेको हो भन्ने पत्ता लाग्ने कारणले अब भने यसरी वर्षौँ सडक मर्मत नगरी खाल्डाखुल्डी छोडेको हेर्न नपर्ने पनि अर्यालको दाबी छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया